ह्युस्टन(टेक्सास),२९ भदौ । बृहत्तर ह्युस्टनको रिचमण्डस्थित आफ्नै मन्दिरमा यस बर्षको तीज बुधबार टेक्सासबासी नेपाली नारीहरुले भगवान शिवजीको विशेष पूजाआजा गरि भक्तिपूर्वक ब्रत बसेर नाचगानसहित मनाएका छन् ।
मन्दिर व्यवस्थापन समितिले ब्रतालु महिलाहरुकोलागि बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म र साँझ ६ देखि ८ बजेसम्म दुई सिफ्टमा विशेष पूजाको व्यवस्थापन गरेको थियो।
प्रति व्यक्ति २१ डलर पूजाशुल्क निर्धारित विशेष तीज पूजामा बिहान र बेलुका गरेर करीब ७५ जना ब्रतालु महिलाहरु सहभागी भएका थिए । पूजामा सहभागी हुन नभ्याएका कैयन महिलाहरु भने नेपाली मन्दिर परिशर मै रहेको पशुपति मन्दिरमा भगवान शिवको पूजा अर्चना गरेर फर्केका थिए।
‘ह्युस्टनमा करीब १० हजार नेपालीहरुको बसोबास रहेको छ ।
पूजामा सहभागी नेपाली महिलाहरु तीज गीत घन्काउदै नाचगान गरेर मन्दिर परिसरलाई निकै उल्लासमय र रंगीन बनाएका थिए। सौभाग्यको प्रतीक स्वरुप राता वस्त्र पहिरिएका नारीहरुको चहलपहलले ह्युस्टन नेपालीमय भएको थियो ।