Prakash Adhikari March 24, 2026

बलेरो जिप दुर्घटनामा डोटीमा दुई जनाको मृत्यु भएको छ भने पर्वतमा चालकले नै जीवन गुमाएका छन् ।

डोटी, १० चैत : यहाँको आदर्श गाउँपालिका–६ रौसेल्ला खोला नजिक मौवा–गिरीचौकको कच्ची सडकमो बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बोलेरो चालक आदर्श –३ काँडीस्याउलेका २२ वर्षीय सुवोध रोकाया र सोही स्थानका १९ वर्षीय कैलाश विक रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी नवराज ढुङ्गेलले जानकारी दिनुभयो । उहाँका अनुसार खतेडाबाट काँडीस्याउलेतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश०१–००१च ३९२३ नम्बरको सो बोलेरो घुम्तीमा अनियन्त्रित भई गए राति १२ः०० बजेको समयमा दुर्घटनामा परेको थियो । दुर्घटनापछि दुवै जना सडकबाट करिब ९०० मिटर तल साइलीखोलामा मृतावस्थामा फेलापरेका थिए ।

चालकको मृत्यु

कालीगण्डकी लोकमार्ग अन्तर्गत फलेवास नगरपालिका–४ मुडिकुवास्थित कुश्मा–फलेवास सडकस्थित कालीगण्डकी किनारमा जीप दुर्र्घटना हुँदा चालक सज्जन परियारको मृत्यु भएको छ ।

जिल्ला सदरमुकाम कुश्माबजारबाट युरिया मल लिएर फलेवास नगरपालिकातर्फ गइरहेको ग१ज ८०२९ नम्बरको सो जीप सोमबार साँझ सडकबाट झन्डै ३० मिटर तल खसेर दुर्घटना भएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिनेश पौडेलका अनुसार जीपमा ३५ वर्षीय चालक एक्लै रहेका थिए । चालक परियारको उद्धार गरी प्रदेश अस्पतालमा ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको जनाइएको छ ।

वर्षाका कारण उकालो बाटो चिप्लो भएका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बल चण्डिका गण र जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले कठिन अवस्थामा उद्धार कार्य सम्पन्न गरेको सशस्त्र प्रहरी बल उपरीक्षक क्षितिज क्षेत्रीले जानकारी दिनुभयो ।
–––

Share Now