Prakash Adhikari March 24, 2026
  • अमिर अजिमी
    बीबीसी न्यूज पर्सिअन

लण्डन(संयुक्त अधिराज्य), ११ चैत्र । केही सातादेखि अमेरिका र इजरायलले इरानको सैन्य क्षमता उल्लेख्य मात्रामा कमजोर बनाइएको दाबी गर्दै आएका छन्। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उहाँका रक्षामन्त्री पीट हेग्सेथले निरन्तरका आक्रमणहरूले इरानको कमान्ड संरचना ध्वस्त पारेको र यसको जबाफ दिने क्षमता कमजोर बनाएको बारम्बार दाबी गर्दै आएका छन्।

उनीहरूका अनुसार यो द्वन्द्व अब अन्त्यतर्फ अघि बढिसकेको हुनुपर्छ।

तर वास्तविकता भने यसको ठिक उल्टो देखिन्छ। तनाव झन् तीव्र, छिटो र निकासका लागि कम स्पष्टतासहित निरन्तर जारी छ।

इरानको क्षमता कति

शनिवार भएको खुलासाअनुसार इरानले हिन्द महासागरमा रहेको डिएगो गार्सिआ टापुस्थित अमेरिका र यूकेको सैन्य अड्डातर्फ करिब ३,८०० किलोमिटर (२,३०० माइल) दूरीबाट दुईवटा क्षेप्यास्त्र प्रक्षेपण गरेको थियो। यद्यपि ती क्षेप्यास्त्रहरू टापुसम्म पुग्न सकेनन् र यो घटनाले इरानको क्षमताबारे नयाँ चिन्ता उत्पन्न गरेको छ। अहिलेसम्म उसको क्षेप्यास्त्रको दायरा करिब २,००० किलोमिटर मात्र हुने विश्वास गरिएको थियो।

यो क्षमता पहिले लुकाइएको थियो वा आक्रमणकै बीचमा बनेको हो भन्ने स्पष्ट छैन तर यसको अर्थ एउटै छ, सैन्य दबावले इरानको प्रगति रोक्न सकेको छैन।

सर्वोच्च नेता अली खामेनेई, शीर्ष नेता अलि लारिजानी, इस्लामिक रेभलूशनरी गार्ड्स कोर (आईआरजीसी)का कमान्डरहरू र सशस्त्र फौजका चीफ अफ स्टाफसहित इरानी नेतृत्वको ठूलो हिस्सा वास्तवमै समाप्त गरिएको हो र मुख्य क्षेप्यास्त्र उत्पादन केन्द्रहरू नष्ट गरिएका हुन् भने त्यस अवस्थामा यो अभियानलाई कसले निर्देश गरिरहेको छ र यति दबावबीच पनि इरानले आफ्नो क्षमता कसरी कायम राख्न सकेको छ भन्ने प्रश्न उठ्छ?

अनिश्चितता शीर्ष तहबाटै सुरु हुन्छ। आफ्ना पिता र परिवारका सदस्यहरूको ज्यान लिने आक्रमणबाट बाँचिएको बताइने गरेका मोज्तबा खामेनेई नयाँ नेताका रूपमा अघि सारिनुभएको छ। तर उहाँ सार्वजनिक रूपमा देखा पर्नुभएको छैन। दुईवटा लिखित सन्देशबाहेक उहाँबारे केही देखिएको वा सुनिएको छैन।

उहाँको अवस्था के छ र नेतृत्व गर्ने क्षमता कति छ भन्ने स्पष्ट छैन। केन्द्रीय अधिकारमा आधारित प्रणालीमा यस्तो मौनताले सत्ताको केन्द्रमै अनिश्चितता सिर्जना गर्दछ।

तर पनि इरानका कदमहरूले कुनै पनि किसिमले पतनको सङ्केत गर्दैनन्।

शनिवार इरानले इजरायलको नेगेब मरुभूमिमा अवस्थित डिमोना सहरलाई पनि आक्रमण गर्‍यो। यसलाई इजरायलको अघोषित परमाणु कार्यक्रमसँग सम्बन्धित क्षेत्र मानिन्छ। यसअघि इजरायलले बूशेहरनजिक इरानको ऊर्जा पूर्वाधारमा आक्रमण गरेको थियो, जहाँ इरानको परमाणु ऊर्जा केन्द्र पनि रहेको छ।

सन्देश स्पष्ट थियो, तनाव बढाइएमा त्यसको बराबरी प्रतिक्रिया हुनेछ र अब मुख्य स्थलहरू पनि सुरक्षित छैनन्।

वार्ताका लाभहानि

यी कदमहरूले अव्यवस्था होइन, समन्वय देखाउँछन्। उच्च नेतृत्व हटाउँदा प्रणाली ठप्प हुने छ भन्ने अमेरिका र इजरायलको मान्यता अब अनिश्चित देखिन थालेको छ।

यदि इरानी संरचनाहरू अपेक्षा गरिएभन्दा बढी सुदृढ छन् भने के हुन्छ? यदि त्यसो हो भने अर्को तुरुन्तै उठ्ने समस्या हो,अब वार्ता कोसँग गर्ने?

इरानका राष्ट्रपति मसुद पेजेस्कियानले लो प्रोफाइल कायम राख्नुभएको छ। द्वन्द्वको सुरुवातमा उहाँले इरानी आक्रमणबाट प्रभावित छिमेकीहरूसँग माफी माग्नुभएको थियो, जुन कदमले इस्लामिक रेभलूशनरी गार्ड्स कोर (आईआरजीसी) भित्रका केही पक्षलाई असन्तुष्ट बनाएको बताइन्छ।

मोज्तबा खामेनेईको उदयपछि उनले कम बोलेका छन्। यसले कूटनीतिक विकल्पहरू अझ सङ्कुचित बनाएको छ।

तेहरानको दृष्टिकोणबाट हेर्दा पछिल्ला घटनाहरूले कुनै पनि वार्तामा विश्वास गर्ने पर्याप्त कारण दिएको छैन। डोनल्ड ट्रम्प पुनः सत्तामा फर्किएपछि बितेका १४ महिनामा दुई फरक चरणका वार्ताहरूमा परमाणु सम्झौताप्रति प्रगतिको सङ्केत देखिए पनि त्यसपछि सैन्य कारबाही भएका छन्।

इरानी अधिकारीहरूका अनुसार फेब्रुअरी २७ मा जेनीभामा भएको दोस्रो चरणको वार्तामा उनीहरूले अमेरिकाका धेरैजसो चिन्ताहरू सम्बोधन गरेका थिए। भिएनामा प्राविधिक छलफलको तयारी पनि भइरहेको थियो। तर ट्रम्पले वार्ता प्रक्रियाप्रति ूखुसी नभएकोू भनेपछि त्यसको भोलिपल्टै आक्रमण सुरु भयो।

इरानी निर्णयकर्ताहरूका लागि सन्देश स्पष्ट छ, वार्ताले आक्रमण रोक्दैन, बरु कहिलेकाहीँ त्यसलाई निम्त्याउन पनि सक्छ।

तर तनाव बढाउने क्षमता केवल इरानसँग मात्र छैन।

डोनल्ड ट्रम्पले पनि शनिवार राति जोखिमको स्तर बढाउनुभएको थियो। उहाँले ४८ घण्टाको समयसीमा दिँदै इरानसमक्ष स्ट्रेट अफ होर्मुज पुनः खोल्न माग गरे, जुन विश्वकै सबैभन्दा व्यस्त तेल मार्गहरूमध्ये एक हो।

उहाँले यदि माग पूरा नभए अमेरिकाले इरानका ऊर्जा केन्द्रहरू पूर्ण रूपमा ध्वस्त पार्ने चेतावनी समेत दिए।

इरानले यो माग अस्वीकार गर्‍यो र उस्तै खालको चेतावनी दिँदै ऊर्जा पूर्वाधारमा कुनै पनि आक्रमण भए मध्यपूर्वभरि जबाफी हमला गर्ने धम्की दियो। इरानको सर्वोच्च रक्षा परिषद्ले पर्सिअन गल्फका केही भागहरूमा बारुदी सुरुङ राख्ने सम्भावनासमेत उठाएको छ।

आगामी जोखिम र बाँकी विकल्पहरू

एकअर्काप्रतिको यस्तो अभिव्यक्तिले आउँदा दिनहरूमा निम्तिने जोखिमलाई स्पष्ट पार्छ। ट्रम्प छिटो निर्णयतर्फ अघि बढिरहेका छन्, जसले विकल्पहरू घटाउँदै लगेको छ। जमिनमा फौजबिना अमेरिका र इजरेलले केवल हवाई आक्रमण गर्न सक्छन्, जसले क्षति त पुर्‍याउँछ तर इरानको पूर्ण आत्मसमर्पणको उद्देश्य हासिल हुँदैन। सँगै यस्ता आक्रमणहरूले होर्मुज पुनः नखोली व्यापक जबाफी कारबाहीहरू निम्त्याउन सक्छ।

यसले दुवै पक्षलाई द्वन्द्वको थप खतरनाक चरणतर्फ प्रत्यक्ष रूपमा धकेलिरहेको देखिएको छ।

तर समयसीमा सकिन केही घण्टाअगाडि ट्रम्प पछि हटे।ट्रूथ सोशलमा पोस्ट गर्दै उहाँले धेरै राम्रो र उत्पादक संवाद भएको बताउनुभयो र इरानको ऊर्जा पूर्वाधारमाथि योजनाबद्ध आक्रमण पाँच दिनका लागि स्थगित गरिएको घोषणा गर्नुभयो ।

यो समय महत्त्वपूर्ण छ। आफैँले दिएको समयसीमाअगाडि आएको यो निर्णयले कम्तीमा अहिलेका लागि एउटा सम्भावित निकासको बाटो खोलेको छ।

बजारहरूले सावधानीपूर्वक प्रतिक्रिया दिए। तेलको मूल्य घट्यो, जसले केही राहतको सङ्केत देखायो तर यसप्रतिको प्रतिक्रिया संयमित रह्यो। यो घोषणा व्यवहारमा कत्तिको लागु हुन्छ भन्ने अझ परीक्षण हुन बाँकी छ र यो स्थगन कति समय टिक्छ वा वास्तवमै वार्तातर्फको प्रगति हो वा होइन भन्ने अझै स्पष्ट छैन।

अझ आधारभूत प्रश्न भने अझै उस्तै छः इरानमा वास्तवमा कसले बोलिरहेको छ र इस्लामिक रेभलूशनरी गार्ड्स कोर तथा सुरक्षा फौजहरूमाथि कसको नियन्त्रण छ जो अहिले ूइच्छाअनुसार गोली चलाउनेू अवस्थामा देखिन्छन्?

यदि अवस्था यस्तै रह्यो र होर्मुज क्षेत्र विवादित नै रह्यो भने दुवै पक्ष फेरि आफ्ना चेतावनीहरूमा फर्किन सक्छन् र यसका परिणामहरू गम्भीर हुन सक्छन्। इरानका ९ करोडभन्दा बढी नागरिकसहित मध्यपूर्वभरिका करिब १७ करोड मानिसहरूले ऊर्जा र अन्य आधारभूत सेवाहरूमा ठूलो अवरोधको सामना गर्नुपर्ने हुन सक्छ।

वार्ताका सीमित माध्यमले गर्दा राष्ट्रपति ट्रम्पका लागि विकल्पहरू झन् साँघुरिदै गएका छन्। थप तनाव बढ्दा रणनीतिक उपलब्धि कम हुन्छन् र विनाशको चक्र दोहोरिने जोखिम बढ्छ।

यसले अन्ततः एकदमै अतिवादी विकल्पहरू मात्र बाँकी राख्न सक्छ।

इरानका लागि पनि अवस्था कठिन छ। यो देश पहिल्यैदेखि नै आर्थिक दबाव र व्यापक असन्तोषको सामना गरिरहेको अवस्थामा द्वन्द्वमा प्रवेश गरेको थियो। अहिलेका लागि भने युद्धले त्यो दबाव केही हदसम्म घटाएको छ, जसले सरकारलाई आन्तरिक नियन्त्रण कडा पार्ने अवसर दिएको छ।

यसले जटिल सन्तुलन सिर्जना गरेको छ। इरानका लागि तनाव बढाउनु बाह्य खतराको जबाफ दिने माध्यम मात्र होइन, आन्तरिक असन्तोष व्यवस्थापन गर्ने उपाय पनि बनेको छ। तर यसले महँगो गल्ती हुने जोखिम पनि बढाउँछ।

अहिले दुवै पक्षका विकल्पहरू सीमित भएका छन्। इरान कमजोर देखिने जोखिमबिना सजिलै पछि हट्न सक्दैन भने अमेरिका र इजरायलले केवल हवाई शक्तिबाट निर्णायक परिणाम हासिल गर्न सक्दैनन्।

Share Now