Prakash Adhikari March 25, 2026

काठमाडौं, ११ चैत्र । हालै सम्पन्न प्रतिनिििध सभाको निर्वाचनमा झण्डै दुई तिहाई सीट जितेको राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार गठन गर्ने दुईदिन अगाडि नेपालको शेयर बजारले करेक्सनको बाटो समातेको छ ।
बुधवार नेपालको शेयर बजार बजारको मापन गर्ने धितोपत्र बजार परिसूचक २४.४६ अंकले घटेर २९३५.९४ अंकमा थामिएको छ ।

विगत पाँच कारोबारदिनदेखि निरन्तर बढ्दै आएको बजार बुधबार करेक्सन भएको हो । यस दिन ३ सय ४५ स्क्रिप्टका ३ करोड ५८ लाख १९ हजार ८ सय १९ कित्ता शेयरहरुको खरिदबिक्रीबाट १५ अर्ब ९ करोड ३ लाख ९९ हजार ६ सय ५६ रुपैया बराबरको कारोबार भएको छ ।

त्यस्तै, यस दिन क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने उपसूचकांक सेन्सेटिभ इण्डेक्स ६.५४ अंक घटेको छ भने बजारमा प्रवाहित शेयरहरुको कारोबार मापन गर्ने उपसूचकांक फ्लोट इण्डेक्स २।४६ अंक र क वर्गका कम्पनीहरुको बजारमा प्रवाहित शेयरको कारोबार मापन गर्ने उपसूचकांक सेन्सेटिभ फ्लोट इण्डेक्स २.२६ अंक घटेको छ।

नेप्से घटेपनि यस दिन कारोबार रकम अघिल्लो दिनको भन्दा बढेको छ। मंगलबार १४ अर्ब ८३ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा १५ अर्ब बढीको कारोबार भयो ।

यस दिन ५ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन रिलायन्स स्पिनिङ्ग मिल्स, सुपर खुदी हाइड्रोपावर, सोलु हाइड्रोपावर, भुजुङ्ग हाइड्रोपावर र होटल फरेष्ट इनको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन पञ्चकन्या माइ हाइड्रोपावरको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने अन्य स्टकहरुको मूल्य वृद्धिदर ४ प्रतिशतभन्दा कम रहेको छ। कारोबारमा आएको अभियान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य यस दिन सर्वाधिक ७.७४ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन ङादी ग्रुप पावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ५२ करोड ४७ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन अपि पावर कम्पनीको करिब ५२ करोड रुपैयाँको शेयर कारोबार भएको छ भने शिवम् सिमेन्ट्सको कारोबार रकम साढे ४७ करोड रुपैयाँ नाघेको छ।

१३ उपसमूहमध्ये यस दिन २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक ३.४५ प्रतिशत बढेको हो भने उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सामान्य बढेको छ। यस दिन विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक २.३२ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन वित्त उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने बैंकिङ्ग, जीवन बीमा, लघुवित्त, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

 

 

Share Now