Prakash Adhikari March 31, 2026

लण्डन(संयुक्त अधिराज्य), १८ चैत्र । रेड सीको एउटा महत्त्वपूर्ण जलमार्गविरुद्ध इरानले दिएको धम्कीले विश्वव्यापी व्यापारमा थप अवरोध पुग्न सक्ने चिन्ता बढाएको छ।

इरानले पहिलेदेखि नै पर्सियन खाडीबाट हुने पानीजहाजहरूको आवतजावतलाई रोकेर होर्मुज स्ट्रेटलाई प्रभावित तुल्याइरहेको छ। उसले अहिले एडेनको खाडी र रेड सीको बीचमा रहेको बाब अल-मान्डब स्ट्रेट हुँदै सूइज कनालतर्फको व्यापारमा अवरोध पुर्‍याउने धम्की दिइरहेको छ।

इरानले अमेरिकी सेना जमिनमा परिचालन गरिएमा युद्धका अन्य मोर्चाहरू खोल्न सक्ने बताएको छ।

बाब अलमान्डब स्ट्रेटलाई विश्वको रणनीतिक जलमार्गहरूमध्ये एक मानिन्छ र इरानसँग यसविरुद्ध पूर्ण रूपमा वास्तविक खतरा सिर्जना गर्ने चाहना र क्षमता दुवै छ,इस्लामिक क्रान्तिकारी गार्ड कोरसम्बद्ध समाचारसंस्था तस्निमले एक सैन्य स्रोतलाई उद्धृत गरेको विवरणमा भनिएको छ।

अमेरिकाले प्रमुख तेल टर्मिनल रहेको खार्ग टापुमा आक्रमण गरेमा इरानले बाब अलमान्डबमा अवरोध पुर्‍याउने धम्की दिएको छ। यसअघि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफू इरानको तेल नियन्त्रणमा लिनेूबारे र खार्ग टापु कब्जा गर्ने विषयमा विचार गरिरहेको बताएका थिए।

किन महत्त्वपूर्ण बाब अल-मान्डब

बाब अल-मान्डब स्ट्रेट रेड सीको अरबी किनारतर्फ यमन र अफ्रिकातर्फ जिबुटी र एरेट्रियाको बीचमा अवस्थित छ। सूइज कनालमा पुग्न हिन्द महासागर र एडेनको खाडीबाट आउने पानीजहाजहरू उक्त मार्ग भएर जानुपर्छ।

यो ११५ किलोमिटर लामो र ३६ किलोमिटर चौडा छ। सन् १८६९ मा सूइज कनाल खोलिएसँगै युरोप र एशियाबीचको सबैभन्दा छोटो समुद्री मार्ग सिर्जना भएकाले यो जलमार्ग विश्वव्यापी व्यापारको अपरिहार्य माध्यम रहँदै आएको छ।

रेड सी करिडोर यतिबेला विश्वको सबैभन्दा व्यस्तमध्येको हो र विश्वको समुद्री आवातजावतको लगभग एक चौथाई हिस्सा यो जलमार्ग भएर हुन्छ।

युद्धले पहिले नै व्यावहारिक रूपमा बन्द हुन पुगेको होर्मुज स्ट्रेटले विश्वको तेल ढुवानीको २० प्रतिशत हिस्सा ओगटेको छ। बाब अल(मान्डब स्ट्रेट बन्द गर्नाले विश्वव्यापी तेलको अर्को १२ प्रतिशत ढुवानी प्रभावित हुन्छ।

अमेरिकाको इनर्जी इन्फर्मेशन एड्मिनिस्ट्रेशनका अनुसार मध्यपूर्व र एशियाका देशमा उत्पादन हुने र पश्चिमको लागि निर्धारित लगभग पाँच लाख ब्यारल तेल दैनिक यही मार्ग भएर जान्छ।

त्यसबाहेक पानीजहाजबाट हुने तरलीकृत प्राकृतिक ग्यास (एलएनजी)को विश्वव्यापी ढुवानीको ८ प्रतिशत पनि यही जलमार्गबाट जान्छ।

होर्मुज स्ट्रेट प्रभावित भएयता विश्वव्यापी व्यापारमा रेड सीको महत्त्व झन् बढेको छ। साउदी अरबले यान्बु बन्दरगाहबाट आफ्नो तेलको प्रवाहका निम्ति बाब अल-मान्डबलाई ट्रान्जिटका रूपमा उपयोग गर्न थालेको छ। त्यस्तै रियादले आफ्नो पूर्वी क्षेत्रहरूबाट पाइपलाइनमार्फत् प्रतिदिन लाखौँ ब्यारल कच्चा तेल पठाउँछ।

कच्चा तेल र ग्यासबाहेक पनि यो जलमार्ग पूर्व र पश्चिम बीचको मुख्य व्यावसायिक सम्पर्कको हिस्सा हो र हरेक दिन दर्जनौँ मालबाहक पानीजहाजहरू यहाँबाट आवतजावत गर्छन्।

सन् २१ मा पनामाको ध्वजावाहक जहाज एभरग्रीन पिँधमा ठोक्किएर सूइज कनाल अवरुद्ध हुँदा जे भएको थियो यो अवरोधको प्रभाव पनि सोही घटनासमान हुनेछ। त्यतिबेला विश्वव्यापी आपूर्ति शृङ्खलाहरूमा गम्भीर अवरोधहरू सिर्जना हुँदा लागत बढ्नुका साथै तेल र विभिन्न प्रकारका सामानहरूको ढुवानीमा ढिलाइ भएको थियो।

हुथीहरूको भूमिका

बाब अलमान्डब स्ट्रेटमा हुने कुनै पनि आक्रमण सम्भवतः यमनमा इरान समर्थित राजनीतिक तथा सैन्य समूह हुथीहरूद्वारा हुनेछ।

नाम नखुलाउने सर्तमा समाचारसंस्था रोएटर्ससँग कुरा गर्दै एक हुथी नेताले आफ्नो समूह तेहरानको समर्थनमा बाब अलमान्डब स्ट्रेटलाई लक्षित गर्न सैन्य रूपमा तयार रहेको बताए।

गएको २८ मार्चमा हुथीहरूले इजरायलविरुद्ध आक्रमण गरे, जुन इरानसँगको अमेरिकीइजरायली युद्धमा उनीहरूको पहिलो संलग्नता थियो। इजरायलले यमनबाट आएका दुई क्षेप्यास्त्रहरू खसालेको जनाएको छ।

उक्त समूहले यमनमा पर्ने रेड सीको तटीय क्षेत्र नियन्त्रण गर्दछ। उक्त समूहले गाजा युद्धको समयमा बाब अलमान्डब स्ट्रेटलाई निशाना बनाएको थियो। हुथीहरूको एकल कारबाहीमा १०० भन्दा बढी व्यावसायिक जहाजहरूमा मिसाइल र ड्रोन आक्रमण भएको थियो। त्यस क्रममा दुइटा जहाज डुब्नुका साथै चार जहाजी कामदार मारिएका थिए।

सन् २०२३ को नोभेम्बरमा रेड सीमा हुथी समूहले जापानीहरूले सञ्चालन गरेको ब्रिटिश स्वामित्वको एउटा कार्गो जहाज हेलिकप्टर प्रयोग गरेर अपहरण गर्‍यो।

हुथीहरूले इजरायलसँग सम्बन्ध भएका जहाजहरूलाई मात्र निशाना बनाइएको दाबी गरे पनि त्यसलाई अन्धाधुन्ध आक्रमणका रूपमा व्याख्या गरियो र विश्वका ठूल्ठूला ढुवानी तथा तेल कम्पनीहरूले त्यस क्षेत्रबाट हुने आवतजावत रोके।

हुथीहरूले आत्मसमर्पण गरे भन्ने अमेरिकी दाबी र अमेरिकीहरू पछि हटे भन्ने हुथीहरूको प्रतिदाबीबीच स्थिति अन्ततः शान्त भयो। तर त्यो स्थिति फेरि सुरु हुन सक्ने भन्दै विश्लेषकहरूले चिन्ता व्यक्त गरेका छन्।

“युद्ध लम्बियो भने हुथीहरू सामेल हुन्छन् भन्ने कुरा सधैँ अपेक्षित थियो”, बीबीसीकी प्रमुख अन्तर्राष्ट्रिय संवाददाता लिस डूसेट भन्नुहुन्छ।

उहाँले थप्नुभयो,”उत्तरपश्चिम यमनमा प्रभुत्व भएका हुथीहरूले अहिलेसम्म आफ्नो शक्तिशाली हतियार अर्थात् बाब अल(मन्डाबको आवतजावतमा अवरोध पुर्‍याउने क्षमताको प्रयोग गरेका छैनन्।”

गत फेब्रुअरी २६ मा अमेरिकाको डिपार्टमेन्ट अफ ट्रान्सपोर्टेसन्स म्यारिटाइम एडमिनिस्ट्रेशनले एउटा सूचनामा भनेको छ: “भलै अक्टोबर २०२५ मा इजरेल र गाजाबीचको युद्धविराम सम्झौतापछि हुथी आतङ्कवादी समूहले व्यावसायिक जहाजहरूमा आक्रमण गरेको छैन, यस क्षेत्रमा व्यावसायिक जहाजहरू सहित अमेरिकी सम्पत्तिहरूमाथि खतरा पैदा गरिरहेको छ।”

दबावमा विश्वव्यापी शिपिङ

अरबी भाषामा बाब अल-मान्डबको अर्थ आँसुको द्वार वा दुःखको द्वार हो। यो नामले यहाँको खतरालाई दर्शाउँछ जसमा तीव्र समुद्री आँधी र अप्रत्याशित वायुदेखि डकैती र सङ्घर्षसम्म सामेल छन्।

सन् २००८ र २०१२ का बीचमा उक्त जलमार्ग र यसको वरपर धेरै समुद्री आक्रमणका घटना भए। खास गरी सोमाली समूहहरूले फिरौती माग्न जहाजका चालक दललाई अपहरण गर्ने गर्थे।

ती घटनाहरूले अन्तर्राष्ट्रिय समुदाय र ढुवानी कम्पनीहरूलाई उक्त क्षेत्रमा सुरक्षा बलियो पार्न प्रेरित गरे।

यो मार्गको अवरोधले ऊर्जा बजारको सङ्कटलाई झनै खराब बनाउने छ जुन पहिलेबाटै होर्मुज स्ट्रेटको अवस्थासँग जुधिरहेको छ।

खाडीमा ढुवानी मार्गमा भएको अवरोधले युद्धअघि लगभग ७० अमेरिकी डलर प्रतिब्यारल रहेको ब्रेन्ट कच्चा तेलको मूल्य ११५ डलरभन्दा माथि पुर्‍याइसकेको छ।

उपभोग्य सामग्रीदेखि कृषिसम्बन्धी उत्पादनसम्मका विभिन्न वस्तुहरूको विश्वव्यापी व्यापार पनि यसबाट प्रभावित भइरहेको छ। अब अर्को समुद्री मार्गमा हुने नयाँ अवरोधले मूल्यहरूलाई अझ उच्च बनाउन सक्छ र इरानसँगको सङ्घर्षका आर्थिक दुस्परिणामहरूलाई थप गम्भीर तुल्याउन सक्छ।

Share Now