Prakash Adhikari April 2, 2026

काठमाडौँ, १९ चैत्र । आज गिरफ्तारी दिनुभएका व्यवसायी दीपक भट्टले सम्पत्ति शुद्धीकरण विभागको अनुसन्धानलाई पूर्णरूपमा सहयोग गर्न आफूले गिरफ्तारी दिएको र अदालतमा उपस्थित पनि भएको बताउनुभएको छ।

म्याद थपलागि नेपाल प्रहरीको सीआईबीले काठमाडौं जिल्ला अदालतमा पेश गर्दा व्यवसायी भट्टले आफूलाई एक खाले सञ्चारमाध्यमले गलतरुपमा प्रस्तुत गरी निरन्तर पीडा दिएकोले आफूमाथि लगाइएको आरोपको अनुसन्धान र न्यायिक निरुपण होस् भन्ने असल मनसायले आफूले गिरफ्तारी दिएको बताउनुभएको थियो ।

अदालतमा उहाँले भन्नुभयो“ म पक्राउ परेको होइन, आफैं पीडित भएकाले अनुसन्धानमा सहयोग गर्न उपस्थित भएको हुँ ।”

व्यवसायी भट्टले आफूलाई केही पूर्वाग्रही मिडियाले निरन्तर गलत रुपमा प्रस्तुत गरेर पीडा दिएको बताउने गर्नुभएको छ । उहाँले आफूले आफ्नै मेहनतले सम्पत्ति आर्जन गरी विभिन्न व्यवसायमा लगाएर देशमा रोजगारी सिर्जना र आर्थिक विकासमा योगदान दिएको बताउँदै आउनुभएको छ । उहाँले आफूले कमाएको सम्पत्ति व्यवसायमा लगाएको बताउदै सम्पत्ति शुद्धीकरणको मुद्दा आफूमाथि लाग्न नसक्ने जिकीर पनि गर्दै आउनुभएको छ । उहाँले आफूले विभिन्न वित्तीय संस्थाबाट कर्जा र सापटी लिएर विभिन्न कम्पनीमा लगानी गरेको दाबी गर्दै आउनुभएको छ । त्यसरी लिएको कर्जा र सापटी रकम आर्थिक बर्षको अन्त्यमा फस्यौट गर्ने आफ्नो योजना रहेको पनि उहाँको जिकिर रहँदै आएको छ ।

१० दिन थुनामा राख्ने अनुमति

जिल्ला अदालतले सम्पत्ति शुद्धीकरण कसुरमा व्यवसायी दीपक भट्टमाथि १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । न्यायाधीश माधवप्रसाद सुवेदीको इजलासले आज व्यापारी भट्टमाथि १० दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद दिएको काठमाडौँ अदालतका स्रेस्तेदार तीर्थराज भट्टराई जानकारी दिनुभयो ।

सम्पत्ति शुद्धीकरण अनुसन्धानमा अध्यागमन विभागले यही चैत १७ गते व्यवसायी भट्टलाई कालोसूचीमा राखेको थियो ।विभागले सोमबार अध्यागमन विभागलाई पत्र पठाएर व्यापारी भट्टको पासपोर्ट रोक्का राख्न अनुरोध गरेको थियो ।

व्यापारी भट्टले आज आफूले प्रहरीसामु गिरफ्तारी दिएको बताउनु भएको छ ।

Share Now