काठमाडौं, २३ चैत्र । निरन्तर घटेर हिजो ओरालोतिर सेन्चुरी हानेको नेपालको शेयर बजार आज ब्रोकर एशोसिएसनका प्रतिनिधिहरुले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेपछि उकालो लाग्न सुरु भएको छ ।
स्टक ब्रोकर एशोसिएसनले मन्त्रीसँग भेटका लागि मागेको समयअनुसार आज बिहान भेट तय भएको थियो । अर्थमन्त्रीको आश्वासन पछि शेयर बजार बढेको छ ।
ब्रोकर एशोसिएसनका पूर्वअध्यक्ष प्रियराज रेग्मीसहितको प्रतिनिधि मण्डललाई अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले सरकारले शेयर बजारलाई अनावश्यक नगिजोल्ने बताउनुभयो । उहाँले वर्तमान सरकार बजारको हितमा सरकार गर्न कटिबद्ध रहेको उल्लेख गर्नुभयो ।
छलफलमा अर्थमन्त्री डा.वाग्लेले पूँजी बजारको वर्तमान अवस्था र सुधारका उपायहरूका बारेमा भइरहेका विकासक्रमका बारेमा उल्लेख गर्नुभएको थियो । उहाँले नेपाल हाल अन्तर्राष्ट्रिय संस्था ‘फाइनान्सियल एक्सन टास्क फोर्सुको ग्रे लिस्टमा रहेको छ। ग्रे लिस्टबाट निकाल्न पनि सरकारले गैरकानुनी कारोबार गर्नेलाई नियान्त्रणमा लिएर अनुसन्धान गरेको दावी गर्नुभयो । केही व्यवसायीहरु अनुसन्धानमा परेपनि निर्दोष लगानीकर्ता डराउनु नपर्ने स्थिति नभएको उहाँले आश्वस्त गराउनुभयो । उहाँले लगानीकर्ता र ब्रोकरहरुले मध्यकालीन र दीगो लगानी सोचसहित लगानी गर्नेहरुको लागि स्वर्णीम युग सुरु भएको दावी गर्नुभयो ।
उहाँले सम्पत्ति शुद्धीकरण नियन्त्रण र शंकास्पद कारोबारको कमजोर निगरानीका कारण सरकारमाथि अन्तर्राष्ट्रिय दबाब पनि रहेको पनि उल्लेख गर्नुभयो । व्यवसायीलाई धरपकड नगर्ने समेत अर्थमन्त्रीले प्रतिबद्धता जनाउनुभएको छ ।
अर्थमन्त्रीको भनाई
नेपाललाई ग्रे लिष्टबाट बाहिर ल्याउनु छ । त्यसका लागि सुशासनका काम गर्नुछ । जनमत पनि यही हो । हामी गर्छौँ ।
केही अनुसन्धान पुरानै हुन् अहिले अन्तिमतिर पुगेका हुन् । अपराध गरेकालाई उन्मुक्ति हुँदैन तर छानीछानी प्रतिशोध हुँदैन ।
सरकार निजी क्षेत्र मैत्री छ । मेरो पहिलो निर्णय हेरे पनि थाहा भइहाल्छ । रास्वपा र सरकार निजीक्षेत्र विरोधी होइन ।हामी अर्थतन्त्रलाई कहाँबाट कहाँ पुर्याउने भनेर लागेका छौँ । बजेट २०४८ यताकै रूपान्तरणकारी र ऐतिहासिक आउँदैछ ।
नेपालको अर्थतन्त्रका लागि अब स्वर्णिम समय आउँदैछ । हल्ला र गलत अफवाहको पछि कोही पनि नलागौँ ।
शेयर बजारमा सबै भन्दा उदार पार्टी र घोषणापत्रमै स्पट धारणा राख्ने हामी हौँ । तर, अहिले अफवाह फैलाइँदैछ । यसको पछि नलाग्न म सबैलाई आग्रह गर्छु ।
ब्रोकरका प्रतिनिधिहरूको पुँजी बजार सुधारको माग
भेटमा पूर्वअध्यक्ष प्रियराज रेग्मीले वर्तमान बजारमा शेयर बेचेर निस्किएका र बजारबाट शेयर उठाउन लागेका मानिसले बजारमा गलत हल्ला मच्चाइरहेका बताउनुभयो ।
उहाँले साना लगानीकर्ता आत्तिएको र संस्थागत लगानीकर्ताका लागि बजारमा सहजताको उपाय अपनाउनु जरुरी भएको बताउनुभयो। उहाँले भन्नुभयो, निजी क्षेत्रमाथिको अनुसन्धान जायज छ तर अनुसन्धान गोप्य राखिनु पर्ने थियो भएन । पुँजीबजार सुधार कार्यदलको सुझाव कार्यान्वयन गरिनु पर्छ ।


















