Prakash Adhikari April 26, 2026

काठमाडौं, १३ बैशाख । दशौं प्रधानमन्त्री कप भलिबल लिग अन्तरगत आज पाँच खेलहरु हुँदै छन् । आज महिलातर्फ दुई खेल हुनेछन् भने पुरुष तर्फ तीन खेल हुनेछन् ।

महिलातर्फ पहिलो खेलमा ९ बजे एपीएफ र सुदूरपश्चिम प्रदेश भिड्ने छन् । दोस्रो खेल न्यु डायमण्ड क्लब र आर्मीको बीचमा ११ बजे सुरु हुने तालिका छ ।

त्यस्तै पुरुष तर्फ आज पहिलो खेल १ बजे नेपाल पुलिस र बुढानीलकण्ठबीच हुने छ । दोस्रो खेल अपरान्ह ३ बजे रुकुम पश्चिम र खिलजी क्लबबीच हुनेछ । पुरुष तर्फको आजको अन्तिम खेल साँझ ५ बजे हेल्प नेपाल र कोशी प्रदेशबीच हुने तालिका छ ।

हिजो महिलातर्फ पुलिस र न्यु डायमण्डको जित

शनिवार भएको खेलमा नेपाल पुलिस क्लब र न्यु डायमण्ड युथ स्पोर्टस क्लबले महिलातर्फ लगातार दोस्रो जित निकाले।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा जारी लिगको तेस्रो दिनको पहिलो खेलमा पुलिसले सुदूरपश्चिम भलिबल क्लबलाई र दोस्रो खेलमा न्यु डायमण्डले एभरेष्ट भलिबल क्लबलाई समान ३(० ले हराएका हुन्।

पुलिसले सुदूरपश्चिमलाई २५(१२,२५(१६,२५(१८ ले पराजित गर्यो । न्यु डायमण्डलाई एभरेष्टले सुरुवाती दुई सेटमा चुनौती दिएपनि तेस्रो खेलमा त्यसलाई निरन्तरता दिन नसक्दा हार बेहोरेको छ। न्यु डायमण्ड २८(२६, २६(२४,२५(१४ ले विजयी भयो।

आफ्नो पहिलो खेलमा पुलिसले एभरेष्टलाई र न्यु डायमण्डले सुदूरपश्चिमलाई हराएका थिए।
पुरुषतर्फ नेपाल पुलिस, रुकुम पश्चिम र हेल्प नेपाल विजयी
नेपाल पुलिस क्लबको पुरुष टोलीले‌ १० औं पीएम कप एनभीए लिगमा विजयी सुरुवात गरेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शनिवार भएको खेलमा पुलिसले कोशी प्रदेशलाई ३(१ ले हराएको छ।

पुलिसले पहिलो सेट २५(२३ ले जित्यो। दोस्रो सेट २२(२५ ले गुमाउँदा खेल १(१को बराबरीमा पुग्यो। तर यसपछि २५(२० र २५(२२ ले लगातार दुई सेट जित्दै खेल आफ्नो पक्षमा पार्यो।

आजै भएको अर्को खेलमा एपीएफ लाई रुकुम पश्चिम भलिबल क्लबले सोझो सेटमा हराएको छ। विभागीय टोली विरुद्ध उत्कृष्ट सुरूवात गर्ने क्रममा पहिलो सेट रूकुमले २५(१४ ले जित्यो।

एपीएफ खेलमा फर्कन सकेन। यसपछि लगातार बाँकी २ सेट २५(२१ र २५(१५ ले जित्दै रुकुम सानदार जित निकाल्न सफल रहयो।

शनिवार नै भएको अर्को खेलमा हेल्प नेपाल स्पोर्ट्स क्लबले खिल्जी युवा क्लबलाई पराजित गरेको छ । हेल्प नेपालले खिल्जीलाई २५(१९, २५(२०, ३१(२९ ले पराजित गरेको हो ।

हेल्प नेपालको यो लगातार दोस्रो जित हो । हेल्प नेपालले पहिलो खेलमा बुढानिलकण्ठ भलिबल क्लबलाई पराजित गरेको थियो ।

नेपाल भलिबल संघको आयोजनामा बैशाख १९ गते सम्म चल्ने प्रतियोगितामा क्लब च्याम्पियनसिपबाट छनोट भएका महिलातर्फका ६ र पुरुषतर्फका ८ टोलीले लिगमा प्रतिस्पर्धा गरिरहेका छन्।

Share Now