काठमाडौं, २४ बैशाख । साताको चौथो कारोबार दिन बिहीबार नेपालको शेयर बजारमा सामान्य बृद्धि भएको छ । यस दिन धितोपत्र बजार परिसूचक ६.९४ अंक बढेर २७१८.१६ विन्दुमा पुगेको छ।
नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। बुधबार ३ अर्ब १९ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३ सय ३४ स्टकको ६६ लाख ८४ हजार कित्ता शेयरको खरिदबिक्रीबाट २ अर्ब ९३ करोड १९ लाख ६८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
यस दिन स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक १२.१९ प्रतिशत बढेको छ। मूल्य बढेका अन्य स्टकहरुको वृद्धिदर भने साढे ४ प्रतिशतभन्दा कम रहेको छ।
कारोबारमा आएको फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य यस दिन सर्वाधिक १३.२४ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन अप्पर लोहोरे खोला जलविद्युत कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी घटेको छ।
कारोबार रकमका आधारमा यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १७ करोड ६८ लाख ३३ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन रिलायन्स स्पिनिङ्ग मिल्सको करिब साढे १४ करोड रुपैयाँको शेयर किनबेच भएको छ भने नेशनल हाइड्रोपावरको कारोबार रकम १४ करोड रुपैयाँ नाघेको छ।
१३ उपसमूहमध्ये यस दिन ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.५७ प्रतिशत बढेको छ। कारोबारमा आएका वित्त, लगानी, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड र निर्जीवन बीमा उपसमूहको परिसूचक यस दिन सामान्य घटेको छ।


















