काठमाडौं, ३१ बैशाख ।बैशाख महिनाको अन्तिम दिन पनि नेपालको शेयर बजारले उकालो गति लिन सकेन । यस दिन पनि शेयर बजार ओरालो गतिमै बन्द भएको छ। पछिल्लो दुई कारोबार दिनदेखि घटिरहेको धितोपत्र बजार परिसूचकले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।
यस दिन धितोपत्र बजार परिसूचक १०.०७ अंक घटेर २७३०.१७ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ०.३४ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.५८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१३ अंक घटेको छ।
धितोपत्र बजार परिसूचक घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। बुधबार २ अर्ब ८० करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३ सय ३७ स्टकको ७९ लाख ५८ हजार कित्ता शेयर खरिदबिक्रीबाट ३ अर्ब २९ करोड २ लाख ४४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
यस दिन यूनियन हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ९.७९ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ भने अन्य स्टकहरुको मूल्य वृद्धिदर ४ प्रतिशतभन्दा कम रहेको छ। कारोबारमा आएको एशियन हाइड्रोपावरको शेयरमूल्य यस दिन सर्वाधिक ९.८९ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३७ करोड ६८ लाख २६ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन साहस उर्जा र एसवाई प्यानल नेपालको साढे १८ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने यूनियन हाइड्रोपावरको कारोबार रकम साढे १४ करोड रुपैयाँ नाघेको छ।
१३ उपसमूहमध्ये यस दिन तीन उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ। यस दिन जीवन बीमा, म्युचुअल फण्ड र व्यापार उपसमूहको परिसूचक सामान्य अंक बढेको हो। कारोबारमा आएको अन्य उपसमूहको परिसूचक यस दिन सर्वाधिक २ प्रतिशत घटेको छ। बाँकी अरु उपसमूहहरुको परिसूचक भने यस दिन सामान्य घटेको छ।








