Prakash Adhikari May 16, 2026

वीरेन्द्रनगर(सुर्खेत), २ जेठ । नेपाली कांग्रेसमा पूर्व पार्टी सभापति शेरबहादुर देउवा निकट समूहले आज कर्णाली प्रदेशको राजधानी सुर्खेतमा कार्यकर्ता भेला गर्दै छ ।।

कांग्रेसभित्र देउवा समूहको नेतृत्व गरिरहनुभएका निवर्तमान कार्यबाहक सभापति पूर्णबहादुर खड्काको अग्रसरतामा यो भेला आयोजना भएको हो । उहाँ विगत तीन दिनदेखि आफ्नो गृहजिल्ला सुर्खेतमा हुनुहुन्छ ।

पार्टीको ‘बृहत् एकता’ र पुनर्जागरणका लागि भन्दै देउवा समूहले हालसम्म कोशी प्रदेशको विराटनगर र बागमती प्रदेशको काठमाडौंमा भेला आयोजना सम्पन्न गरिसकेको छ ।

कर्णाली विशेष भेलालाई नेता खड्काले प्रमुख अतिथिका रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

चौधौँ महाधिवेशनमा संस्थापन पक्षकै बाहुल्यता रहेको कर्णाली प्रदेश कार्यसमितिले यो भेलाको आयोजना गरेको हो, जसको संयोजन गर्ने जिम्मेवारी कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवन शाहीलाई दिइएको छ।

पार्टी एकताको नारा दिइएको यस भेलामा कर्णाली प्रदेशका सबै स्थानीय तहका जनप्रतिनिधिहरू, प्रदेशसभा सदस्यहरू, प्रतिनिधिसभा सदस्यहरू, कर्णालीबाट प्रतिनिधित्व गर्ने वर्तमान तथा निवर्तमान केन्द्रीय सदस्यहरूलाई आमन्त्रण गरिएको छ। यसका साथै सबै जिल्लाका पार्टी पदाधिकारी, सुर्खेत जिल्लाका वडा तहसम्मका जनप्रतिनिधि, पार्टीका स्थानीय पदाधिकारी र भ्रातृ तथा शुभेच्छुक संस्थाका अगुवाहरूलाई समेत बोलाइएको छ।

यद्यपि, विशुद्ध देउवा समूहको ब्यानर र रणनीतिमा बोलाइएको यो भेलामा सहभागी हुने वा नहुने भन्ने विषयमा कतिपय जनप्रतिनिधि र पार्टीका अन्य गुटका पदाधिकारीहरू भने अन्योलमा देखिएका छन्।

सहभागितालाई सुनिश्चित गर्नका लागि प्रदेशसभा सदस्यहरूलाई संसदीय दलमार्फत अनिवार्य उपस्थित हुन निर्देशनात्मक पत्राचार गरिएको छ भने पार्टी पदाधिकारीहरूलाई प्रदेश समितिमार्फत कडा सर्कुलर जारी गरिएको छ। आफ्नै गृहजिल्लामा हुन लागेको भेलालाई भव्य र बढी जनसहभागितामूलक देखाउन नेता खड्का आफैँ कार्यक्रमको दुई दिनअघि नै सुर्खेत आइपुगेर कार्यकर्ता भेटघाट र आन्तरिक रणनीति निर्माणमा तीव्र रूपमा जुट्नुभएको छ।

यो भेलाको पृष्ठभूमि भने केही दिनअघि सुर्खेतमै सम्पन्न अर्को कार्यक्रमसँग जोडिएको छ। यसअघि वैशाख २८ र २९ गते कांग्रेसका सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा र महामन्त्री प्रदीप पौडेल लगायतका संस्थापन इतर समूहका शीर्ष नेताहरूले सुर्खेतमा प्रदेशस्तरीय भव्य भेला आयोजना गर्नुभएको थियो।

Share Now