कीर्तिपुर(काठमाडौं), ४ जेठ । आईसीसी विश्वकप लिग २ को नेपाल श्रृखला अन्तर्गत सोमबार भएको १ सय ६ औं खेलमा नेपालले शीर्ष स्थानको स्कटल्यान्डलाई ६ विकेटले शानदार ढंगले पराजित गरेको छ ।
यो जित संगै नेपाल लिग २ को अंकतालिकामा पाँचौ स्थानमा उक्लिएको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा टस जितेर ब्याटिड. गरेको स्कटल्यान्डले दिएको १ सय ९५ रनको लक्ष्य नेपालले ३८ ओभर १ बलमा ४ विकेट गुमाएर १ सय ९९ रन बनाउँदै पूरा गरेको छ ।
नेपालको जितमा कप्तान रोहित पौडेलले सर्वाधिक ७४ रन बनाएर नटआउट रहे । उनले ९८ बलमा ५ चौका र २ छक्का प्रहार गरे । रोहितले इशान पाण्डेसँग तेस्रो विकेटका लागि शतकीय साझेदारी गरे । इशान ६१ बलमा ५५ रन बनाएर आउट भए । उनले ५ चौका र २ छक्का प्रहार गरे । अमेरिकासंगको खेलबाट एक दिवसीय खेलमा डेब्यु गरेका इशानको यो पहिलो अर्धशतक पनि हो ।
आजको खेलमा ओपनर कुशल भुर्तेल र आसिफ शेखले पहिलो विकेटका लागि ५८ रनको ओपनिङ साझेदारी गरेका थिए । कुशल २८ र आसिफ २९ रनमा आउट भए । त्यसपछि नेपालको ब्याटिङ रोहित र इशानले सम्हालेका थिए । उपकप्तान दीपेन्द्रसिंह ऐरी २ रनमा आउट हुँदा आरिफ शेख ८ रनमा अविजित रहे ।
नोपललाई रोक्ने क्रममा बलिङमा स्कटल्याण्डका मार्क वाटले २ र ब्रेन्डन म्याकमुलेनले एक विकेट लिए ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय खेल मैदानमा भएको खेलमा टस जितेर ब्याटिड. रोजेको स्कटल्याण्डले ५० ओभरको निर्धारित खेलमा ३९.१ ओभरमा १ सय ९४ रनमा अलआउट भएको थियो ।
स्कटल्याण्डको लागि ब्राडन म्याकमुलनले ७३, माइकल इंग्लिसले ५१,जर्ज मुन्सेले २१, मार्क वाटले २०,रिची बेरिड।टनले १२,फिन्ले म्याक्रेथले ६, ओलिभ जोन्सले २ तथा माइकल लिस्क र म्याथु क्रसले एक एक रनको योगदान गरे । ओलि जोन्स शून्य रनमा आउट भए भने ब्राण्ड क्युरी शून्य रनमा नट आउट रहे ।
स्कटल्याण्डलाई रोक्ने क्रममा नेपालका ललित राजवंशीले ४, सन्दीप लामिछानेले ३ विकेट लिए भने दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र नन्दन यादवले एक एक विकेट लिए ।








