Prakash Adhikari May 19, 2026

 

काठमाडौं, ५ जेठ । प्रस्तावित प्रधानन्यायाधीश डा.मनोजकुमार शर्माविरुद्धको रिट निवेदन दर्ता गर्न कायममुकायम प्रधानन्यायाधी सपना मल्लले निर्देशन दिएपछि उहाँलाई पदासिन गराउन तत्पर राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय सुनुवाईको प्रक्रिया छिटो टुंग्याउने रणनीति लिएको छ ।

त्यस अन्तरगत संघीय संसद अन्तरगत रहने सार्वजनिक सुनुवाई समितिले उहाँको सुनुवाई प्रक्रिया अगाडि बढाएको छ ।

सुनुवाई समितिले आज उजुरीकर्तासँग छलफल गर्ने र आजै शर्मासंग उजुरीसहित उहाँको न्यायिक सुधारको कार्यक्रमको जानकारी लिन सार्वजनिक सुनुवाइ गर्ने तयारी छ ।

संसदीय सुनुवाइ समितिको जारी बैठकमा उहाँमाथि परेका उजुरीको विवरण र शर्माका कार्ययोजना सदस्यहरुलाई वितरण गरिएको छ ।

शर्मा उपर १६ वटा उजुरी (११ वटा इमेलबाट र ५ वटा लिखित निवेदन) परेका छन् ।

समिति सभापति बोधनारायण श्रेष्ठले आज उजुरीकर्तासँग छलफल गर्ने र आजै प्रस्तावित प्रधानन्यायाधीश शर्माको सुनुवाइ गरिने बताउनुभएको छ।

संवैधानिक परिषदको २४ वैशाखमा बसेको बैठकले सर्वोच्च अदालतका चौथो वरियताका न्यायाधीश डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको थियो ।

संसदीय सुनुवाइको प्रक्रिया पूरा गरेपछि राष्ट्रपतिबाट प्रधानन्यायाधीश नियुक्त हुने संवैधानिक व्यवस्था छ ।

Share Now