काठमाडौँ, ६ जेठ। नेपाली चिया निर्यातमा १९ दिनदेखि सिर्जना भएको अवरोध हटेको छ । भारतले नेपाली चिया उद्यमी र निर्यातकहरुको माग अनुसार पूर्ववत केही नमूना परीक्षण गरी निर्यात सहजीकरण गर्ने कुरामा सहमति जनाएपछि यो अवरोध हटेको हो ।
भारतीय चिया बोर्डले मंगलबार (मे १९)मा सुधारिएको नयाँ सूचना (कोरिजेन्डम–२) जारी गर्दै अनिवार्य गुणस्तर परीक्षणको प्रावधानमा हेरफेर गरेसँगै नेपाली चियाको निर्यातमा देखिएको गाँठो फुकेको छ ।
गत मे १ देखि भारतले आफ्ना सबै नाकामा नेपाली चियाको अनिवार्य परीक्षण हुनुपर्ने र त्यसको रिपोर्ट नआएसम्म मालवस्तु अगाडि बढाउन नपाइने नियम लागु गरेपछि नेपाली चिया निर्यात ठप्प भएको थियो ।
निर्यात अवरोधको कारण
भारतीय चिया बोर्डले गत फेब्रुअरी १० मा जारी गरेको र मे १ देखि कार्यान्वयनमा ल्याएको ‘स्टान्डर्ड अपरेटिङ प्रोसिड्युर’ (एसओपी) अनुसार आयात हुने चियाको हरेक खेप (कन्साइनमेन्ट) अनिवार्य परीक्षण गर्नुपर्ने व्यवस्था गरेको थियो ।
यसअघि ‘¥यान्डम’ (आकस्मिक) रूपमा नमूना सङ्कलन गरी परीक्षण गरिने गरेकोमा नयाँ नियमले हरेक गाडीको चिया प्रयोगशाला पठाउनुपर्ने र रिपोर्ट आउन झन्डै १० देखि १५ दिन लाग्ने भएपछि निर्यात ठप्प भएको थियो । यसलाई नेपाली चिया व्यवसायीहरूले भारतको ‘अघोषित नाकाबन्दी’ बताएका थिए ।
समाधानमा कूटनीतिक पहल
चिया निर्यात रोकिएपछि नेपालका चिया उद्यमी तथा भारतस्थित नेपाली दूतावासले निरन्तर दबाब दिएका थिए । नेपाल चिया उत्पादक संघका उपाध्यक्ष तथा चिया निर्यातकर्ता शिवकुमार गुप्ताका अनुसार नेपाली दूतावासले भारतीय वाणिज्य मन्त्रालयसँग समन्वय गरेको थियो ।
‘भारत सरकार र त्यहाँको चिया बोर्डले नेपालबाट कस्तो समस्या भइरहेको छ भनेर सोधखोज गरेको थियो । हामीले समस्याका बारेमा जानकारी गराएको थियौँ,’ उहाँले भन्नुभएको छ । त्यसपछि भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण, भन्सार र चिया बोर्डको संयुक्त बैठक बसेको थियो । उक्त बैठकले अनिवार्य परीक्षणको नियम खुकुलो पार्ने निर्णय गरेको गुप्ताले बताउनुभयो ।
भारतीय चिया बोर्डको निर्देशन
भारतीय चिया बोर्डले जारी गरेको सुधारिएको सूचना ‘कोरिजेन्डम’ अनुसार अब निर्यात प्रक्रिया अगाडि बढ्नेछ । भारतको आन्तरिक बजारमा बिक्री गरिने चियाको हकमा अब चिया बोर्डले अनिवार्य परीक्षण गर्ने छैन । बरु, भारतीय भन्सार र खाद्य सुरक्षा विभागले आफ्नो ‘रिस्क म्यानेजमेन्ट सिस्टम’ अनुसार ‘र्यान्डम’ रूपमा मात्र नमुना सङ्कलन गर्नेछन् । यदि चिया भारत हुँदै तेस्रो मुलुक पठाउने प्रयोजनका लागि हो भने त्यसको गुणस्तर परीक्षण चिया बोर्डले अनिवार्य रूपमा गर्ने छ । प्रयोगशालाहरूले नमुना प्राप्त गरेको ५ दिनभित्र अनिवार्य रूपमा परीक्षण रिपोर्ट अनलाइन प्रणालीमा अपलोड गर्नुपर्ने व्यवस्था गरिएको बोर्डले जनाएको छ ।
निर्यात अवरोधको असर
नोपली चियाको निर्यात १९ दिनसम्म रोकिँदा नेपाली चिया क्षेत्रमा ठूलो चिन्ता छाएको थियो । यद्यपि, मे महिना चियाको मुख्य सिजन भर्खर सुरु हुँदै गरेको अवस्था भएकाले भन्सारमा धेरै गाडीहरू भने थुप्रिएका थिएनन् । उपाध्यक्ष शिवकुमार गुप्ताले भन्नुभयो, ‘हामीले माल नै लोड गरेका थिएनौँ, किनकि बोर्डको रिपोर्ट नआएसम्म गाडी अगाडि बढ्न पाउँदैनथ्यो । तर फ्याक्ट्रीहरूमा लाखौँ किलो तयारी चिया थुप्रिएको थियो । यदि अझै केही दिन ढिला भएको भए चियाको गुणस्तर बिग्रने र किसानको भुक्तानीमा ठुलो समस्या आउने निश्चित थियो ।’
नेपालबाट वार्षिक करिब ५ देखि ६ अर्ब रुपैयाँ बराबरको चिया भारत निर्यात हुने गरेको छ । जसमा झापाको सीटीसी चिया र इलामको अर्थोडक्स चियाको हिस्सा ठूलो छ ।
भारतले परीक्षणको नियममा लचकता अपनाएसँगै अब बुधबारदेखि नै नाकाबाट चिया निर्यात सुचारु हुने व्यवसायीहरूको विश्वास छ । यो निर्णयले नेपालका करिब ३० हजार चिया किसान र दर्जनौँ चिया उद्योगीहरूलाई राहत मिलेको छ । यद्यपि नेपाली चियाको दीर्घकालीन बजार सुनिश्चित गर्न सरकारले भारतसँग छुट्टै गुणस्तर प्रमाणीकरण सम्झौता गर्नुपर्ने माग व्यवसायीहरूको छ ।








