मोरङ, ६ जेठः कोशी प्रदेशमा आर्थिक वर्ष २०८२/८३ मा आर्थिक वृद्धिदर तीन दशमलव एक प्रतिशत हुने अनुमान गरिएको छ ।
राष्ट्रिय तथ्याङ्क कार्यालय तथा तथ्याङ्क समन्वय कार्यालय विराटनगरद्वारा आज यहाँ आयोजित प्रादेशिक लेखा अनुमान सार्वजनिकीकरण तथा अन्तरक्रिया कार्यक्रममा पहिलो छदेखि आठ महिनाको तथ्याङ्क प्रयोग गरेर यस्तो निष्कर्ष निकालिएको जानकारी दिइयो ।
प्रदेशमा आर्थिक वृद्धिदर उपभोक्ता मूल्यमा तीन दशमलव एक प्रतिशत र आधारभूत मूल्यमा दुई दशमलव नौ प्रतिशत रहने अनुमान गरिएको कार्यालयका राष्ट्रिय लेखा शाखाका निर्देशक दिनेश भट्टराईले जानकारी दिनुभयो । उहाँले लेखा अनुमान तथ्याङ्क प्रस्तुत गर्दै अर्थतन्त्रको आकार रु १० खर्ब ४३ अर्ब ११ करोडको अनुमान गरिएको बताउनुभयो ।
त्यस अवसरमा कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङ्थेपले प्रदेशले कुल गार्हस्थ्य उत्पादन वृद्धिका लागि आधार निर्माण भइरहेको बताउनुभयो । उहाँले प्रदेशमा अर्थतन्त्र सुदृढीकरणका लागि कृषि, पर्यटन र औद्योगिकीकरणलाई प्राथमिकतामा राखेको जानकारी दिँदै उद्योग र कृषिको उत्पादन वृद्धिका लागि विशेष राहत योजना सञ्चालनमा ल्याएको बताउनुभयो ।
प्रदेश योजना आयोगका उपाध्यक्ष तारानाथ निरौलाले स्थानीय उत्पादनको उपभोगमा जोड दिनुभयो । मुख्यमन्त्रीका आर्थिक सल्लाहकार मोहनप्रसाद सुवेदीले आयात प्रतिस्थापन गर्न सके कुल गार्हस्थ्य उत्पादन वृद्धि हुने विचार राख्नुभयो ।
राष्ट्रिय तथ्याङ्क कार्यालयका उपप्रमुख ढुण्डिराज लामिछाने र तथ्याङ्क समन्वय कार्यालय मोरङका प्रमुख सुभाष अधिकारीले तथ्याङ्कलाई नीति र बजेट निर्माणमा प्रयोग गर्न आग्रह गर्नुभयो ।