नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षमा वैद्य र कोषाध्यक्षमा प्रधान ; संघाई र पौडेल पराजित
काठमाडौँ, ८ जेठः नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य र कोषाध्यक्षमा मनिषलाल प्रधान निर्वाचित हुनुभएको छ ।
आज यहाँ सम्पन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा वैद्यले ५६ मत प्राप्त गरी विजयी हुनुभयो भने रामचन्द्र सङ्घाईले ३० मत प्राप्त गर्नुभयो । वरिष्ठ उपाध्यक्ष पदका लागि सुरकृष्ण वैद्य, रामचन्द्र सङ्घाई र हेमराज ढकालले मनोनयन गर्दा गर्नुभएको थियो । तर ढकालले पछि उम्मेवारी फिर्ता लिनुभएको थियो ।
कोषाध्यक्ष पदमा विजयी मनिषलाल प्रधानले ६१ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी अम्बिकाप्रसाद पौडेलले २५ मत प्राप्त गर्नुभयो ।
छ जना केन्द्रीय सदस्य मनोनित
महासङ्घका अध्यक्ष अन्जन श्रेष्ठले आजै दुई जना महिलासहित छ जनालाई केन्द्रीय सदस्यमा मनोनित गर्नुभएको छ । मनोनित हुनेहरूमा शिवप्रसाद घिमिरे, मनिषलाल प्रधान, नवीन रिजाल, गोकर्ण कार्की, दर्शना श्रेष्ठ र सहारा जोशी रहनुभएको छ ।
महासङ्घको विधान धारा २९ को (च) १० को व्यवस्थाअनुसार सबै सदस्य समूहको प्रतिनिधित्व हुनेगरी कम्तीमा दुई जना महिलासहित सात जना सदस्य मनोनित गर्न पाउने प्रावधान छ । विधानतः बाँकी रहेको एक सदस्य पदमा भने मनोनय गर्न बाँकी छ ।








