Prakash Adhikari May 25, 2026

काठमाडौँ, ११ जेठ। नेपाली कांग्रेसमा एकता कायम राख्न नेता डा.शेखर कोइरालाले ५ सूत्रीय प्रस्ताव सार्नुभएको छ ।

आफूलाई भेट्न आएका सभापति गगन थापा, महामन्त्री प्रदीप पौडेललगायतसँग डा। कोइरालाले पार्टीका एकता कायम राख्न भन्दै ५ प्रस्ताव राखेको सचिवालयले जानकारी दिएको छ ।

डा.कोइरालाले आफूलाई वरिष्ठ नेता नचाहिएको बताउनुभएको छ । उहाँले पार्टीमा एकता कायम राख्नका लागि गर्नुपर्ने केही काम पार्टीका पदाधिकारीलाई दिएको बताउनुभएको छ ।

वरिष्ठ नेता डा. कोइरालालाई भेट्न चैत २२ गते महामन्त्री प्रदीप पौडेल र वैशाख २३ गते सभापति गगन थापा सम्पर्क कार्यालय विशालनगरमा पुग्नुभएको थियो । ती भेट र त्यसपछि पार्टी नेतृत्व र पदाधिकारीसँग भएका अनौपचारिक कुराकानीमा कोइरालाले यी प्रस्ताव राख्नुभएको स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिनुभएको छ ।

कांग्रेसमा एकता कायम राख्ने डा. कोइरालाका ५ सूत्रः

१) १५औँ महाधिवेशनको लागि क्रियाशील सदस्यता अद्यावधिकलाई अनिवार्य नगर्ने ।

२) १४औँ महाधिवेशन पछाडि नवीकरण गरिएका र वितरण गरिएका क्रियाशील सदस्यता कै आधारमा १५औँ महाधिवेशन गर्ने ।

३) १४औँ महाधिवेशनको केन्द्रीय कार्यसमिति र विशेष महाधिवेशनको केन्द्रीय कार्यसमितिलाई समायोजन गरेर एउटै बनाउने ।

४) कार्य सम्पादन समिति सभापतिको बहुमत हुनेगरी गठन गर्ने ।

५) निर्वाचन समिति, क्रियाशील सदस्यता छानबिन समिति, अनुशासन समिति, विधान समिति र अन्य समितिहरु आपसी सहमतिबाट मात्रै बनाउने ।

Share Now