Prakash Adhikari May 27, 2026

धर्मशाला(पञ्जाब,भारत), १३ जेठ (एजेन्सी) । रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) ले पहिलो क्वालिफायरमा गुजरात टाइटन्सलाई ९२ रनले पराजित गर्दै लगातार दोस्रो पटक इन्डियन प्रिमियर लिग (आइपीएल) को फाइनलमा पुगेको छ।

धर्मशालामा मंगलबार राति भएको खेलमा आरसीबीले प्रस्तुत गरेको २ सय ५५ रनको विशाल लक्ष्य पछ्याएको गुजरात १९.३ ओभरमा १ सय ६२ रनमै समेटियो।

पहिले ब्याटिङ गरेको आरसीबीले ५ विकेट गुमाएर २ सय ५४ रन बनाएको थियो।

कप्तान रजत पाटीदारले अविजित ९३ रनको विस्फोटक इनिङ्स खेले। उनले केवल ३३ बलमा ९ छक्का र ५ चौका प्रहार गरे।

विराट कोहलीले २५ बलमा ४३, देवदत्त पडिक्कलले १९ बलमा ३० र क्रुनाल पाण्ड्याले २८ बलमा ४३ रन जोडे।

बैंगलोरलाई रोक्नका लागिगुजरातका जेसन होल्डर र कागिसो रबाडाले समान २ विकेट लिए।

जवाफमा गुजरातको सुरुआत खराब रह्यो। शुभमन गिल, साई सुदर्शन र जोस बटलरजस्ता प्रमुख ब्याटर छिट्टै आउट भएपछि टोली दबाबमा परेको थियो। राहुल तेवतियाले ६८ रन बनाए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।

आरसीबीका बलरहरूले उत्कृष्ट प्रदर्शन गरे। जेकब डफीले ३ विकेट लिए भने भुवनेश्वर कुमार र क्रुनाल पाण्ड्याले समान २ विकेट हात पारे। जोश हेजलवुड र रसिख सलामले पनि महत्वपूर्ण विकेट लिए।

फिल साल्ट चोटका कारण अनुपस्थित भए पनि आरसीबीले आक्रामक खेल प्रदर्शन गर्‍यो। वेंकटेश अय्यरले सुरुआतमा ७ बलमा १९ रन बनाएपछि आरसीबीले तीव्र सुरुआत गरेको थियो।

पाटीदारले विशेषगरी अन्तिम ओभरहरूमा गुजरातका बलरमाथि दबाब सिर्जना गरे। १४ औं ओभरसम्म खेल प्रतिस्पर्धात्मक देखिए पनि त्यसपछि आरसीबीले अन्तिम ६ ओभरमा १ सय १४ रन थप्दै खेल आफ्नो पक्षमा मोडेको थियो।

गुजरातले शीर्ष दुईमा रहेर लिग चरण पूरा गरेकोले अब दोस्रो क्वालिफायर खेल्ने अवसर भने पाउनेछ। उसले सनराइजर्स हैदराबाद र राजस्थान रोयल्सबीचको एलिमिनेटर विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

आइपीएल इतिहासमा क्वालिफायर १ जित्ने टोलीले पछिल्ला आठ संस्करणमध्ये सबै उपाधि जितेको तथ्यले पनि आरसीबीको उपाधि सम्भावना बलियो देखिएको छ।

Share Now