काठमाडौं, १५ जेठ । आज काभा महिला भलिबल च्याम्पियनसिपमा नेपाली राष्ट्रिय महिला भलिबल टोली भारतीय राष्ट्रिय टिमसंग फेरि एकपटक भिडन्त गर्दैछ ।
हिजो सम्पन्न सेमिफाइनलमा दुबै टोली आआफ्ना प्रतिस्पर्धीसंग पराजित भएपछि आज च्याम्पियनसिपको तेस्रो स्थानका लागि भिड्न लागेका हुन्। खेल दिउँसो १ः०० बजे दशरथ रंगशालाको कभर्ड हलमा सुरु हुने भएको छ ।
सेमिफाइनलमा नेपाल इरानसँग र भारत काजकिस्तानसँग समान ३-० को सोझो सेटमा पराजित भएका थिए। आजै दिउँसो ४ः३० बजे इरान र काजकिस्तानबीच फाइनल खेल हुनेछ।
नेपाल र भारत एउटै समूहबाट सेमिफाइनल पुगेका थिए। लिग चरणमा भारतले नेपाललाई ३-२ ले हराएको थियो। अन्तिम तथा निर्णायक सेटमा कमजोर प्रदर्शन गरेपछि नेपाल पराजित भएको थियो।
पहिलो सेट जितेको नेपालले त्यसपछि लगातार दुई सेट गुमाएको थियो। चौथो सेटमा सानदार पुनरागमनसहित २-२ को बराबरी गरेपछि निर्णायक सेट नेपालले आफ्नो पक्षमा पार्न सकेन ।नेपालले पहिलो खेलको गल्तीमा सुधार गरेमा भारतलाई पराजित गर्न सक्छ।
दुई वर्ष अघि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा नेपालले भारतविरुद्ध इतिहासमा मै पहिलो पटक जित निकालेको थियो।
आज इतिहास दोहोर्याउदै भारतलाई हराएर कास्य पदक जित्ने अवसर नेपालसँग छ। तर, त्यसका लागि टोलीले आपसी समन्वय बनाउने, क्षमता अनुसारको प्रदर्शन, आफूले कम गल्ती गर्ने र विपक्षीको गल्तीको फाइदा उठाउन सक्नुपर्नेछ।








