Prakash Adhikari May 29, 2026

 

काठमाडौं, १५ जेठ । नेपाली राष्ट्रिय महिला भलिबल टोली काठमाडौंमा जारी काभा महिला भलिबल च्याम्पियनसिपको तेस्रो स्थानको लागि भएको खेलमा पराजित भएको छ ।

काठमाडौँमा आज भएको नेपाल र भारतबीचको खेलमा नेपाल ३-१ को सेटमा पराजित भयो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा आज भारतले नेपाललाई २५-२२, २५-२३,१५-२५,२५-२२ ले हराएको हो ।

हिजो सेमिफाइनलमा दुबै टोली पराजित भएका थिए । नेपाल इरानसंग ३-०को सेटमा पराजित भयो भने भारत ३-० मानै कजाकिस्तानसंग । दुवै पराजित टिमबीच आज च्याम्पियनसिपको तेस्रो स्थानका लागि प्रतिस्पर्धा भएको थियो ।‌

नेपाल र भारत एउटै समूहबाट सेमिफाइनल पुगेका थिए। लिग चरणमा भारतले नेपाललाई ३-२ ले हराएको थियो। लिग चरणमा पनि अन्तिम तथा निर्णायक सेटमा कमजोर प्रदर्शन गरेपछि नेपाल पराजित भएको थियो।

पहिलो सेट जितेको नेपालले त्यसपछि लगातार दुई सेट गुमाएको थियो। चौथो सेटमा सानदार पुनरागमनसहित २-२ को बराबरी गरेपछि निर्णायक सेटमा चुकेको थियो।

आज भने पहिला २ सेट गुमाएको नेपाल तेस्रो सेटमा पुनरागमन गर्दै भारतलाई १० अंकले पराजित गरेको थियो । तर चौथो सेटमा जित्नै पर्ने खेल गुमाएपछि नेपालले नतिजा भारतलाई सुम्पेको हो । नेपाली महिला भलिबल टिमका शीर्ष स्थानका खेलाडीहरु प्रतिभा माली, अरुणा शाही लगायतका खेलाडीहरु सुखद् भविष्यको खोजीमा विदेश पलायन भएपछि नेपालको महिला भलिबलले संकट व्यहोरिरहेको छ ।

नयाँ खेलाडीहरु उत्पादनका लागि पर्याप्त प्रतियोगिता पनि भइरहेका छैनन् । नेपालको राष्ट्रिय खेल मानिएको र सबैजस्तो विद्यालयमाका खेलमैदानमा नियमित खेल्न सकिने यो राष्ट्रिय खेललाई आकर्षक बनाउन सरकारको पनि त्यति ध्यान पुगेको देखिदैन ।

Share Now