क्वाललम्पुर(मलेसिया), १६ जेठ । एशियन गेम्स महिला क्रिकेट छनोट अन्तरगत आज भएको सेमिफाइनल खेलमा नेपाली चेलीहरु मलेसियासंग पराजित भएका छन् ।
मलेसियाको वायुमास ओभलमा भएको खेलमा टस जितेर नेपालले दिएको १ सय २७ रनको लक्ष्य मलेसियाले १८.४ ओभरमा १ सय २७ बनाएर पूरा गर्यो ।
मलेसियाका लागि ऐना हमिजाले १८, एल्सा हन्टरले ४८, मास एलिसाले ६ माहिरा इजाति इस्माइलले १४, धनुश्री महुनानले २१, नूर दानिया स्युहादा बिन्तीले २, नुर क्वाल्यसा नूरफेन्दीले २, वान जुलियाले ६ रनको योगदान दिए । मलेसियाले १० अतिरिक्त रन जोड्यो १ लेगवाई र ९ वाइडबाट।
मलेसियालाई रोक्ने क्रममा नेपालकी मनिषा उपाध्यायले २, रिया शर्माले ३, रुविना क्षेत्रीले २ र सीता रानामगरले १ विकेट लिए ।
यस अगाडि मलेसियाको वायुमास ओभल स्टेडियममा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २६ रन बनायो।
नेपालले सुरूवात राम्रो गर्न सकेन। ओपनर सम्झना खड्का २ रनमा र सोनी पाख्रिन ६ रनमा आउट भए। २ विकेट गुमाउँदा नेपालले मात्र २४ रन बनाएको थियो।
लगत्तै उप कप्तान पूजा महतो १५ रन पबिलियन फर्किन्। पहिलो पावर प्लेको समाप्तिमा नेपालले २७ रन जोड्दा पहिलो क्रमका तीन खेलाडी गुमायो।
यसपछि रुबि पोद्दार र कप्तान इन्दु बर्माले तेस्रो विकेटको लागि ३१ रनको साझेदारी गरे। रूबि १७ रनमा आउट भइन्।
क्रिजमा छिरेकी अनुभवी सीता राना मगर ५ रनमा रिटायर्ड हर्ट भइन्। यसपछि कविता र इन्दुले नेपालको इनिङ्स सम्हाले।
१८ ओभर सकिंदा नेपालले ९२ रन मात्र बनाएको थियो। यसपछि १९ औं ओभरको पहिलो पहिलो बलमा इन्दुले चौका प्रहार गरिन्। यसपछि चौथो र पाँचौं बलमा कविताले चौका र छैंटौं बलमा छक्का प्रहार गरिन्। यो ओभरमा नेपालले १९ रन जोड्यो।
अन्तिम ओभरमा पनि कविताले दुई चौका प्रहार गरिन्। अन्तिम बलमा भने आउट हुन पुगिन्। यी दुईले ५१ रनको साझेदारी गरे। बिष्फोटक ब्याटिङ गरेकी कविताले १५ बल खेल्दै ४ चौका र १ छक्का सहित ३३ रन बनाइन्। इन्दु अविजित ४६ रनमा रहिन्। उनले ४१ बल खेल्दै ५ चौका प्रहार गरिन्।
बलिङमा विनफ्रेड डुरासिगामले सर्वाधिक २ विकेट लिइन्। आइसा इलिसिया र माहिरा इजातीले समान १ विकेट लिए।
नेपालले समूह चरणमा चीन र इन्डोनेसियालाई हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो।
आजको खेलमा पराजित भएको नेपालले तेस्रो स्थानको लागि हुने खेलमार्फत मौका पाउने छ । तेस्रो भएमा पनि नेपाल एसियाली खेलकुदमा छनोट हुनेछ।








