साफ महिला च्याम्पियनसिपः साम्बा बिनाको खेलमा भाग्यले पनि ठग्यो, नेपालको फाइनल यात्रामा बंगलादेश बाधक
गोवा(भारत), २० जेठ । नेपाली महिला फुटबलकी स्टार राष्ट्रिय टिमकी कप्तान भइसकेकी साबित्री भण्डारीको अनुपस्थितिमा भएको साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल बंगलादेशसंग पराजित भएको छ।
भारतको गोवामा जारी च्याम्पियनसिपमा नेपाल इन्जुरी समयको अन्त्यतिर बंलादेशको प्रहार रोक्ने तालमेल मिलाउन नजान्दा २(१ ले पराजित हुनपुग्यो ।
गोवाको जवाहरलाल नेहरू स्टेडियममा भएको खेलको २३ औं मिनेटमा दीपा शाहीको कर्नरमा बंगलादेशकी गोल किपरले मिस गरेको बललाई सिक्स यार्ड बक्स बाहिरबाट गीता रानाले हानेको प्रहार गोलमा परिणत भयो।
जारी साफ च्याम्पियनसिपमा गीताको यो दोस्रो गोल हो। नेपालले भुटानलाई हराउँदा एक मात्र गोल गीताले नै गरेकी थिइन्।
आज ३६ औं मिनेटमा प्रीति राईले हानेको पावरफुल सट बंगलादेशका किपरको हातमा लाग्दा क्रसबारमा ठोकिंदै बाहिरियो। नेपालले २(० को स्पष्ट अग्रता बनाउने राम्रो मौका गुमायो।त्यसपछि पहिलो हाफको इन्जुरी समयमा बंगलादेशले बराबरी गोल फर्कायो।
रितु पोर्ना चक्माले कर्नरबाट सिधै गोल गरिन्। उनले कर्नर प्रहार नेपालकी गोल किपर अञ्जिला तुम्बाप्पो सुब्बाको हातमा लागेर गोलमा परिणत भयो। पहिलो हाफ १(१ गोलको बराबरीमा सकियो।
खेलको ४७ औं मिनेटमा प्राप्त क्रसमा बंगलादेशकी डिफेन्डरले हेडर मिस गरेपछि रेखाले गोल किपरलााइ बिट गर्दै खाली पोष्टमा गरेको प्रहार पोलमा लागेर बाहिरियो। ६९ औं मिनेटमा सरू लिम्बूको प्रहार थोरैले आकाशियो।
६८ औं मिनेटमा बंगलादेशकी सागोरिकाले हानेको प्रहारलाई गोल किपर अन्जिलाले उत्कृष्ट बचावट गरिन्। नेपालकी दीपाले ९० औं मिनेटमा पाएको मौकालाई सदुपयोग गर्न सकिनन्।
दोस्रो हाफमा दुवै टिमबाट गोल हुन सकेन्। निर्धारित नब्बे मिनेटको खेल १(१ गोलको बराबरीमा सकियो। तर इन्जुरी समयमा तौरा खातुनको क्रसमा गीता राना क्लीयर गर्न खोजेको प्रहार प्रीतिको घुँडामा लाग्दै गोलमा परिणत भयो। गोल भने सागोरिकाको नाममा दिइयो।
त्यही निर्णायक गोलले नेपाललाई २(१ ले उछिन्दै बंगलादेश लगातार तेस्रो पटक फाइनलमा प्रवेश गर्न सफल रह्यो।
आठौं संस्करणमा ६ पटकको फाइनलिष्ट नेपाल दोस्रो पटक सेमिफाइनलमा पराजित भएको हो। यसअघि नेपाल एक पटक सन् २०१६ को चौथो साफमा नेपाल सेमिफाइनलबाट बाहिरिएको थियो। १० वर्षपछि नेपाल पहिलो पटक साफको फाइनलमा पुग्न सकेन।
नेपालकी स्ट्राइकर साम्बा घुँडामा चोट लागेर अस्पतालमा स्वास्थ्य लाभ गरिरहेको बेला भाग्यले पनि साथ नदिंदा नेपालको फाइनल पुगेर उपाधि चुम्ने आकांक्षा रहरमा नै सीमित हुन गयो ।
बंगलादेश लगातार दुई पटकको विजेता हो। बंगलादेशले दुई पटक उपाधि जित्दा नेपाल दुवै पटक फाइनलमा हारेको थियो। यो पटक सेमिफाइनलमा पराजित हुन पुग्यो। आजै हुने दोस्रो सेमिफाइनल खेलमा भारत र भुटानबीच खेल हुनेछ।








