Prakash Adhikari June 4, 2026

काठमाडौं, २१ जेठ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र सुधारको माग राख्दै आउनुभएका महामन्त्री डा. धवलसमशेर राणा पार्टी परित्याग गरेर नयाँ पार्टी गठनको तयारीमा लाग्नुभएको छ ।

हिजो जेनजी एलायन्सका प्रतिनिधिहरुसंग भेटघाट गर्नुभएका डा. राणाले आज राजधानीको कान्तिपथमा अवस्थित होटल यल्लो प्यागोडामा दिउँसो १ बजे सामूहिक भेटघाटको कार्यक्रम राख्नुभएको छ ।

पार्टीभित्र आफूले उठाएको सुधारका मुद्दालाई उपेक्षा गरेको, पार्टीको हारको जिम्मेवारी पनि पन्छाउँदै आएको, र पार्टीको नियमित महाधिवेशन नगरेर वैधानिकतामाथि समेत प्रश्न उठ्ने स्थिति सिर्जना गर्दै पार्टीलाई नयाँ पुस्ताबीच लैजान कुनै सक्रिय कार्यक्रम सञ्चालन गर्न नसकेको गम्भीर आरोप लगाउँदै आम नेपाली नागरिकको माग अनुरुप नयाँ सिद्धान्त,आदर्शसहितको व्यबहारिक नीति लिएर नयाँ शक्ति स्थापना गर्ने अभिप्रायले उहाँले यही जेठ १७ गते पार्टी परित्याग गरेको घोषणा गर्नुभएको थियो ।

सायद पाठ को फोटो हुनसक्छ

उहाँको हिमचिम धेरै अगाडि देखि राष्ट्र,धर्म र संस्कृति बचाऊ अभियानका दुर्गा प्रसाईसंग बढ्दै गएकोले हिन्दु राष्ट्र कायम गराउने उद्देश्यसहितको नयाँ पार्टी गठन हुने आँकलन पनि गरिएको छ । उहाँका निकतस्थहरुले राष्ट्रिय सनातनी समाजवादी पार्टी गठन हुने सन्देश सामाजिक सञ्जालहरुमार्फत फैलाइरहेका छन् ।

राप्रपाबाट एकल विद्रोह गरेर निस्कनुभएका डा. राणालाई पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीमै फर्कन र महाधिवेशनमा जुट्न सार्वजनिक आह्वान गर्नुभएको छ । तर त्यसलाई उहाँले ‘भ्रम र शब्दजाल’ को संज्ञा दिँदै अस्वीकार गर्नुभएको छ।

बुधबार एक विज्ञप्ति जारी गर्दै राणाले राप्रपाको केन्द्रीय समितिले आफ्नो वैधानिक हैसियत समेत गुमाइसकेको दाबी गर्नुभएको छ । उहाँले राप्रपाको वैधानिक म्याद समाप्त भइसकेकाले अब पुरानो बाटोबाट अगाडि बढ्न नसकिने स्पष्ट पारेका छन्। राप्रपाले २०७८ सालमा एकता महाधिवेशन सम्पन्न गरेको थियो।

पार्टीको विधानअनुसार केन्द्रीय कार्यसमितिको नियमित कार्यकाल चार वर्षको रहने व्यवस्था छ। विशेष परिस्थिति उत्पन्न भएमा विधानकै परिधिभित्र रहेर एक वर्षसम्म कार्यकाल थप गर्न सकिने प्रावधानअनुसार गत मंसिरमा केन्द्रीय समितिको म्याद ६ महिनाका लागि थपिएको थियो।

राणाका अनुसार सो थपिएको अतिरिक्त ६ महिनाको समयावधि पनि जेठ १९ गते पूर्ण भइसकेको छ। निर्धारित समयभित्र महाधिवेशन गर्न नसकेको र थपिएको अवधि समेत गुज्रिसकेकाले राप्रपाले पूर्ण रूपमा वैधानिकता गुमाइसकेको जिकिर राणाले आफ्नो विज्ञप्तिमा गर्नुभएको छ।

संगठनात्मक संकट टार्न र समयमै महाधिवेशन सम्पन्न गर्नका लागि एक वर्ष पहिले नै उपाध्यक्ष हेमजंग गुरुङको संयोजकत्वमा महाधिवेशन सुझाव समिति गठन गरिएको थियो। सो समितिमा राणा आफैं पनि सदस्यका हुनुहुन्थ्यो ।

उक्त समितिले मुलुकको आम निर्वाचनलाई मध्यनजर गर्दै निर्वाचन ढिला भएमा मंसिरमा र छिटो भएमा जेठ महिनाभित्रै जसरी पनि महाधिवेशन सम्पन्न गर्न कार्यसम्पादन र केन्द्रीय समितिलाई लिखित सुझाव दिएको थियो। सोही सुझावका आधारमा केन्द्रीय समितिले ६ महिनाको आयु बढाए पनि नेतृत्वले महाधिवेशन गराउनेतर्फ कुनै चासो नदेखाएको आरोप राणाले लगाउनुभएको छ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले राणालाई नै महाधिवेशनको तालिका तयार पार्ने जिम्मेवारी दिइएको तर उहाँ आफ्नो पदीय उत्तरदायित्वबाट पन्छिएर भागेको आरोप लगाउनुभएको छ । तर डा. राणाले कडा शब्दमा त्यसाको खण्डन गर्नुभएको छ।

उहाँले दर्जनौँ पटक औपचारिक तथा अनौपचारिक बैठकहरूमा दिएका रचनात्मक सुझाव र सल्लाहलाई नेतृत्वले कहिल्यै स्वीकार नगरेको र गरिएका वैधानिक निर्णयहरू समेत कार्यान्वयन नगरेको आरोप लगाउनुभएको छ।

आफ्ना कमीकमजोरी र अक्षमतालाई ढाकछोप गर्न अध्यक्षले आफूमाथि दुष्प्रचार गरेको भन्दै राणाले यसलाई अर्काको थाप्लोमा दोष थोपरेर आफू चोखो बन्ने निर्लज्ज र गैरजिम्मेवार शैलीको संज्ञा दिनुभएको छ।

नेतृत्वको यही आत्मकेन्द्रित प्रवृत्ति र अहंकारका कारण गत निर्वाचनमा पार्टीले आफ्नो राजनीतिक साखः मात्रै नगुमाएर वैचारिक मूल्य(मान्यता तथा सैद्धान्तिक आधार समेत धरापमा पारेको उहाँको ठहर छ।

गलत नीतिकै कारण राप्रपा जनताबाट तिरस्कृत हुने अवस्थामा पुगेको र पार्टीका सयौँ इमानदार साथीहरूले घर छोड्नु परेकाले अहिले राप्रपा एउटा ‘मक्किएको र अलपत्र परेको घर’ जस्तो मात्र बाँकी रहेको राणाले टिप्पणी गर्नुभएको छ। नेतृत्व तहमा चरम अविश्वासको संकट पैदा भएकाले अब राप्रपाको मार्गबाट राष्ट्रवादी लक्ष्यमा पुग्न असम्भव प्रायः रहेको उहाँको निष्कर्ष छ।

उहाँले पार्टीभित्रका पुराना राष्ट्रवादी शक्ति, समूह र अभियानहरूलाई अध्यक्ष लिङ्देनको भ्रमपूर्ण शब्दजालमा नपर्न आग्रह गर्दै देशमा नयाँ वैकल्पिक शक्तिको आवश्यकता भएकोले त्यसतर्फ ध्यान दिन आग्रह गर्नुभएको छ।उहाँले राप्रपाको भ्रमबाट मुक्त भई सम्पूर्ण राष्ट्रवादी मनहरूलाई आपसी मेल र एकताको नयाँ अभियानमा समाहित हुन हार्दिक अपिल पनि गर्नुभएको छ।

निःस्वार्थ भावले देश र जनताको हित अनुकूल चल्ने, प्रजातान्त्रिक मूल्य र मान्यता बोकेको तथा आफ्नो लक्ष्यप्रति इमानदार एवं विश्वसनीय रहने नयाँ राष्ट्रवादी शक्ति निर्माणका लागि राणाले देशव्यापी रूपमा नयाँ मोर्चा र दल गठनको आह्वान पनि गर्नुभएको छ ।

सायद पाठ को फोटो हुनसक्छसायद नक्सा  र पाठ को फोटो हुनसक्छ

Share Now