वाशिड.टन डीसी(संयुक्त राज्य अमेरिका), २१ जेठ (बीबीसी) । अमेरिकी कङ्ग्रेसको तल्लो सदन प्रतिनिधिसभा(हाउस अफ रेप्रिजेन्टेटिभ्स)ले राष्ट्रपति डोनल्ड ट्रम्पलाई इरानमा थप सैन्य कारबाही अघि बढाउनबाट रोक्ने एक प्रस्ताव पारित गरेको छ।
प्रस्तावको पक्षमा २ सय १५ र विपक्षमा २ सय ८ मत परेको थियो। चार जना रिपब्लिकन सांसदहरूले डेमोक्र्याटसँग मिलेर प्रस्तावमा मत दिएर फेब्रुअरीमा सुरु भएको युद्धप्रति दुर्लभ सार्वजनिक असहमति प्रकट गरेका छन्।
ट्रम्पको युद्ध अधिकारलाई सीमित गर्ने यो सदनको चौथो प्रयास हो। कंग्रेसको स्वीकृतिबिना सञ्चालन भइरहेको इरान युद्धबारे आलोचकहरूले प्रश्न उठाउने गरेका छन्।
यो प्रस्ताव कार्यान्वयनमा आउन कङ्ग्रेसको माथिल्लो सदन सिनेटबाट पनि अनुमोदन हुनु आवश्यक छ। सिनेटमा रिपब्लिकनहरूको बहुमत छ। सिनेटबाट स्वीकृत भए पनि यो प्रस्तावले इरानविरुद्धको सैन्य कारबाही पूर्ण रूपमा रोक्ने सम्भावना कम रहेको ठानिएको छ।
ट्रम्पले यो प्रस्ताव आफ्नो असाधारण अधिकार भिटो प्रयोग गरेर रोक्न सक्नुहुन्छ। जसलाई खारेज गर्न दुवै सदनको दुई–तिहाइ बहुमत आवश्यक पर्छ।
यसअघि सिनेटले मे महिनामा यस्तै प्रस्ताव अघि बढाएको थियो। सात पटकको असफल प्रयासपछि अघि बढेको उक्त प्रस्ताव अझैसम्म पनि सदनको पूर्ण बैठकमा मतदानका लागि प्रस्तुत गरिएको छैन।
प्रतिनिधिसभामा बुधवार भएको मतदानमा चार जना रिपब्लिकन सांसदहरूसँगै यसअघि प्रस्तावको विरोधमा रहेका डेमोक्र्याट सांसदहरू पनि समर्थनमा उभिएका थिए।
सदनको मतदानलाई ट्रम्पको रिपब्लिकन पार्टीभित्र बढ्दो विभाजनको सङ्केतका रूपमा टिप्पणी गरिएको छ। केही दिनअघि मात्रै कङ्ग्रेसमा रिपब्लिकन पार्टीकै सांसदहरूले विद्रोह गरेपछि ट्रम्प प्रशासनले यसअघिको बाइडेन प्रशासनबाट ुराजनीतिक प्रतिशोधु साँधिएकाहरूलाई सहयोग गर्ने नाममा बनाउन लागिएको १.८ अर्ब अमेरिकी डलरको कोषको योजना फिर्ता लिएको थियो।
प्रतिनिधिसभाको विदेश मामिला समितिका एक जना डेमोक्र्याट ग्रेगरी मिक्सले सदनको मत इरानमा ट्रम्पको गैरकानुनी र महँगो युद्ध अन्त्य गर्ने पहिलो कदम भएको बताउनुभएको छ।
ट्रम्पले युद्धका घोषित उद्देश्यहरू हासिल सफल नभएको बरु युद्धले अमेरिकामा इन्धनको मूल्य बढाएको उहाँको भनाइ छ।
“प्रस्ताव पारित हुनु एउटा महत्त्वपूर्ण मोड हो। धेरै रिपब्लिकन सांसदहरूले मध्यपूर्वमा अर्को अनिश्चित युद्ध नचाहने आफ्ना मतदाताहरूको आवाज सुन्न थालेका छन्”, प्रस्तावका समर्थक मिक्सले भन्नुभयो।
युद्धविराम सम्झौता भए पनि पछिल्ला दिनहरूमा अमेरिकाले इरानमा आक्रमण जारी राखेको छ। जवाफमा तेहरानले पनि कुवेतमा रहेको अमेरिकी सैन्य अखडालाई लक्षित गरेर क्षेप्यास्त्रहरू प्रहार गरिरहेको छ।
मतदानअघि ह्वाइट हाउसमा संवाददाताहरूसँग ट्रम्पले युद्ध अन्त्यका लागि वार्ता पुनः राम्रोसँग अघि बढिरहेको र सम्भवतः यही सप्ताहान्तमा टुङ्गिन सक्ने बताउनुभएको थियो।








