काठमाडौं, २१ जेठ । नेपाल समूह ए को शीर्षमा रहँदै एसियन गेम्स छनोटको सेमिफाइनलमा प्रवेश गरेको छ।
बिहीबार सम्पन्न समूह ‘ए’को अन्तिम खेलमा नेपालले मलेसियालाई १ सय ६७ रनले हराएको हो। तीन देश रहेको समूह ए का २ खेल जितेर नेपालले ४ अंक जोड्यो। यसअघि नेपालले चीनलाई २ सय २१ रनले पराजित गरेको थियो।
यो समूहबाट मलेसिया पनि सेमिफाइनलमा पुगिसकेको छ। सेमिफाइनलमा समूह चरणका विजेता र उपविजेताबीचमा खेल हुने भएकोले नेपालले अब हंगकंग र ओमानको मध्ये उपविजेता बन्ने टिमसंग खेल्ने छ । समूह बीमा हंगकंग र ओमान दुवैले दुईदुई खेल जितेका छन् । समूहमा चार देश भएकोले दुवैले अझ एक एक खेल खेल्न बाँकी छ । जुन ओमान र हंगकंगबीचको खेल आज हुँदै छ ।
बिहिवारको खेलमा नेपालले दिएको २ सय ७६ को विशाल लक्ष्य पछ्याएको मलेसिया निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८ रनमा समेटियो।
मलेसियाका कप्तान सैयद अजिजले सर्वाधिक ५४ रन बनाए। ४५ बल खेलेका उनले ६ चौका र २ छक्का प्रहार गरे। शर्विन मुनियान्डी १८ र मुहम्मद हाजिक आइमान १३ रनमा आउट भए।
मलेसियालाई रोक्न नेपालका शेर मल्लले सर्वाधिक ३ विकेट लिए। करण केसी,सोमपाल कामी,सन्दीप लामिछाने,कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले समान एक एक विकेट लिए ।
यस पहिले टस हारेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय ७५ रन बनाएको थियो।
खेलमा नेपालका कुशल भुर्तेलले सर्वाधिक १ सय २६ रन बनाए। ५४ बल खेलेका उनले १४ चौका र १ छक्का प्रहार गरे। अर्का ओपनर आसिफ शेखले २४ बलमा ५ चौका र ७ छक्कासहित ६८ रनको योगदान दिए।
यी दुईबीच पहिलो विकेटका लागि १ सय ३४ रनको साझेदारी भएको थियो। कप्तान दीपेन्द्रसिंह ऐरी ३१ र सन्दीप जोरा १५ रनमा आउट भए । खेलमा लोकेश बमले १०, कुशल मल्लले ९, करन केसी ७ र सोमपाल कामीले १ रनको योगदान गरे । रोहित पौडेल शून्य रनमा आउट भए ।








