Prakash Adhikari June 12, 2026
काठमाडौँ, २९ जेठः काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ बुचाकोटमा यात्रुवाहक बस दुर्घटना हुँदा आठ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
बनेपादेखि रोशी गाउँपालिकातर्फ जाँदै गरेको बा २ ख ८३९८ नम्बरको यात्रुवाहक बस बुचाकोटमा दिउँसो करिब २ः१५ बजे सडकबाट दुई सय मिटर तल खसेको थियो । दुर्घटनामा चालकसहित १६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक रविन विस्टले जानकारी दिनुभयो ।
उहाँका अनुसार घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।

चार मृतकको पहिचान खुल्यो

दुर्घटनाका ८ जना मृतकमध्ये ४ जनाको सनाखत भएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डीएसपी रविन विष्टका अनुसार बस दुर्घटनामा मृत्यु हुने आठमध्ये चार जनाको सनाखत भएको छ ।

बसका साहु रोशी गाउँपालिका–६ का ७५ वर्षीय इन्द्रबहादुर झाक्री र दैलेख घर भएका नेपाली सेनाका अमलदार बमबहादुर भण्डारीको परिचय खुलेको हो । दुई जना अन्य पहिचान खुलेका मृतकमा रोशी–७ का ३४ वर्षीया फूलमाया तामाङ र रोशी–८ का ६० वर्षीया प्यारीमाया तामाङको रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार अन्य चार जनाको भने सनाखत हुन सकेको छैन । दुर्घटनामा १६ जना घाइते भएका छन् ।

घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

घाइतेहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको डीएसपी विष्टले जानकारी दिएका छन् ।

शुक्रवार दिउँसो बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोक हुँदै सुँगुरे जाँदै गरेको बा ३ ख ८३९८ नम्बरको बस दुर्घटनामा परेको थियो ।

दुर्घटनामा परेको बस अर्को बसलाई साइड दिने क्रममा अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

Share Now