Prakash Adhikari September 25, 2018

न्यूयोर्क(संयुक्त राज्य अमेरिका),९ असोज (बीबीसी) ।अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै अघिल्ला प्रशासनहरूले हासिल गर्न नसकेका उपलब्धिहरू आफ्नो प्रशासनले दुई वर्षभन्दा पनि कम समयमा हासिल गरेको बताएका छन्।

उनले अमेरिकी अर्थतन्त्र अहिलेसम्म नदेखिएको रूपमा बढिरहेको बताउँदै सीमामाथिको नियन्त्रण र सेनालाई सशक्त बनाउँदा अमेरिका अझ सुरक्षित बनेको उल्लेख गरे।

ट्रम्पले उत्तर कोरियाली नेता किम जङ-अनसँगको शिखर बैठकले केही महिनाअघि मात्र कल्पना नगरिएको विकासक्रम भएको बताए।

उनले उत्तर कोरियाका क्षेप्यास्त्र तथा रकेटहरू अब सबै दिशामा उड्न छाडेको उल्लेख गर्दै उत्तर कोरियाको पारमाणविक परीक्षण रोकिएको जनाए।

आतङ्कवाद

इरानबारे बोल्दै ट्रम्पले सो मुलुकले मध्यपूर्वमा मृत्यु र विध्वंस फैलाइरहेको टिप्पणी गरे।

उनले इरानी नेताहरूले आफ्नो देशको सम्पत्ति लुटिरहेको आरोप समेत लगाए।

तेहरानलाई उनले ‘विदेशमा आतङ्कवादको प्रायोजक’को संज्ञा दिए।

तिनै कारणले आफ्नो प्रशासन इरानसँगको पारमाणविक सम्झौताबाट बाहिरिएको र सो निर्णयको मध्यपूर्वका अरू मुलुकहरूले प्रशंसा गरेको ट्रम्पको भनाइ थियो।

ट्रम्प
विश्व व्यापारसम्बन्धी प्रसंगमा ट्रम्पले आफ्नो प्रशासनले थप अत्याचार सहन नगर्ने बताए।

उनले चीनमाथि ठूलो मात्रामा उत्पादनहरू पठाइरहेको तथा बौद्धिक सम्पत्ति चोरी गरिरहेको र त्यसबाट अमेरिकी ऋण बढेको दाबी गरे।

प्रशंसा
सम्बोधनमा ट्रम्पले गत जुन महिनामा सिंगापुरमा उत्तर कोरियाली नेता किम जङ-अनसँग भएको शिखर बैठकबारे पनि उल्लेख गरे।

शिखर बैठकमा भएको सहमतिपछि उत्तर कोरियाले आफ्नो पारमाणविक परीक्षण केन्द्र बन्द गरेकोमा किमको प्रशंसा पनि गरे।

‘किम-ट्रम्प वार्तामा १ करोड ५० लाख डलर खर्च’

त्यसक्रममा उनले दक्षिण कोरियाली राष्ट्रपति मून जे-इन, जापानका प्रधानमन्त्री शिञ्जो आबे र चिनियाँ राष्ट्रपति सी जिनपिङलाई विशेष धन्यवाद दिए।

इराक र सिरियामा रक्तपात मच्चाइरहेको तथाकथित इस्लामिक स्टेटलाई त्यहाँबाट धपाएको कुरा महासभालाई सुनाउन पाएकोमा आफूलाई खुशी लागेको ट्रम्पले उल्लेख गरे।

सम्बोधनका क्रममा उनले इरानलाई एक्ल्याउन सबै देशलाई आग्रह समेत गरे।

Share Now

Leave a comment.