Prakash Adhikari September 26, 2018

 

पेन्सिलभेनिया(संयुक्त राज्य अमेरिका),१० असोज(बीबीसी) । संयुक्त राज्य अमेरिकाका ख्यातिप्राप्त हास्य कलाकार बिल कोस्बीलाई यौन आक्रमणको मुद्दामा दोषी ठहर गर्दै तीन देखि दश वर्ष सम्मको कैद सजाय सुनाइएको छ।

पेन्सिल्भेनियाका एक न्यायाधीशले ८१ वर्षीय हास्य कलाकार कोस्बीलाई “हिंसक यौन आक्रमणकारी”को संज्ञा दिए। कोस्बीले कैद सजायका अतिरिक्त आजीवन मनोपरामर्शदाताको सहयोग लिनु पर्ने भनिएको छ।

गत एप्रिल महिनामा भएको सुनुवाइको क्रममा कोस्बी सन् २००४ मा एन्ड्रियाज कन्स्ट्यान्ड लाई लागुपदार्थ दिएको र यौन हमला गरेको मुद्दामा दोषी ठहर भएका हुन्।

अन्य महिलाले पनि कोस्बीले आफूलाई यौन आक्रमण गरेको आरोप लगाएका छन्। तर ती घटना धेरै पुराना भएकोले ती मुद्दा अघि बढेनन्।

कोस्बीको नाम अब अमेरिकामा यौन अपराधमा संलग्न व्यक्तिहरूको सूचीमा समेत रहनेछ। फैसलापछि बिल कोस्बीले कुनै प्रतिक्रिया दिएनन्।

कारागार

पीडित महिला
पेन्सिल्भेनिया पुगेकी बीबीसीकी एक संवाददाताका अनुसार बिल कोस्बीले कारागारमा पहिलो रात बिताएका छन्।

न्यायाधीशले कोस्बीलाई कोही पनि कानुनभन्दा माथि नरहेको बताएका थिए। कोस्बीलाई कम सजाय दिएमा उनको अपराधविरुद्ध न्याय हुन नसक्ने उनको भनाइ थियो।

कोस्बी अमेरिकामा #मिटू अर्थात म पनि पीडित भन्ने यौन आक्रमणका दुर्व्यवहार पीडित महिलाहरूको आन्दोलन सुरुभएपछि कैद सजाय भोग्ने पहिलो ख्यातिप्राप्त व्यक्ति हुन्।

#मिटू आन्दोलनका क्रममा अमेरिकाको मनोरञ्जन उद्योग, राजनीति र अन्य क्षेत्रका दर्जनौँ शक्तिशाली पुरुषहरूमाथि विभिन्न आरोप लागेका छन्।

अस्वीकार

कोस्बीले धरौटी तिरेर पुनरावेदन गर्न गरेको अनुरोधलाई अदालतले अस्वीकार गरेको थियो।

सन् १९८०को दशकमा टेलिभिजनको कोस्बी शो चलाएपछि हास्यकलाकारको रूपमा कोस्बीले निकै ख्याति कमाएका थिए।

ब्रुकलिन, न्यूयोर्कको धनाढ्य अफ्रिकी-अमेरिकी परिवारको प्रतिनिधि बनेका कोस्बीलाई त्यतिबेला ‘अमेरिकाको ड्याड’ अर्थात पिता पनि भनिन्थ्यो।

Share Now

Leave a comment.