वाशिड.टनडीसी(संयुक्त राज्य अमेरिका), ४ आषाढ । संयुक्त राज्य अमेरिका र इरानबीचको सम्झौतामा हस्ताक्षर भएर त्यो लागु समेत भइसकेको ह्वाइट हाउसका एक जना अधिकारीले बीबीसीसँग पुष्टि गरेका छन्।
जी सेभेन सम्मेलनका लागि फ्रान्स पुग्नुभएका राष्ट्रपति डोनल्ड ट्रम्पले औपचारिक रूपमा सम्झौतामा हस्ताक्षर गर्नुभएको हो । सम्झौतासँगै इन्धन आपूर्तिका लागि महत्त्वपूर्ण होर्मुज जलमार्ग पुनः खुला हुने छ।
समझदारीपत्र नाम दिइएको १४ बुँदे सम्झौतामा इरानले भविष्यमा पनि परमाणु अस्त्र नबनाउने सर्त छ। साथै इरानले देशको “पुनर्निर्माण र आर्थिक विकास” का लागि ३०० अर्ब अमेरिकी डलरको कोष बनाउने प्रतिबद्धता गरेको छ। यो कोषमा अमेरिकाले योगदान गर्नु अनिवार्य गरिएको छैन। अमेरिका र इजरेलले इरानमा आक्रमण सुरु गरेको चार महिनापछि दुई पक्षबीच सम्झौता भएको हो।
ट्रम्प प्रशासनले यो सम्झौता “कार्यान्वयनमा–आधारित” हुने बताएको छ। आफ्नो प्रतिबद्धता पालना गरेको अवस्थामा मात्र सम्झौताबाट प्राप्त हुने लाभ इरानले पाउने अमेरिकी दाबी छ।
सम्झौताको पूर्ण विवरण सार्वजनिक भएसँगै कैयौँ प्रश्नहरू अझै अनुत्तरित देखिएका छन्। यसले थुप्रै महत्वपूर्ण मुद्दाहरू सम्बोधन नगरेको विश्लेषण भएका छन्।
सम्झौतामा उल्लेखित १४ बुँदा निम्न छन्
१. लेबननसहित सबै मोर्चामा युद्ध अन्त्य गर्ने
२. अमेरिका र इरानले एक अर्काको सार्वभौमसत्ता र भौगोलिक अखण्डता सहितको आन्तरिक मामिलाको सम्मान गर्ने
३. अन्तिम सम्झौता नहुँदासम्म युद्धविराम ६० दिन थप गर्ने। आपसी सहमतिमा यसको समयसीमा लम्ब्याउन सकिने
४. अमेरिकाले इरानमाथि लगाएको सामुद्रिक नाकाबन्दी ३० दिनभित्र पूर्ण रूपमा अन्त्य गर्ने
५. होर्मुज जलमार्ग खुलाउने र इरानले त्यहाँबाट व्यावसायिक जहाजहरूको सुरक्षित आवतजावतको व्यवस्था मिलाउने
६. इरानको पुनर्निर्माणका लागि ३०० अर्ब अमेरिकी डलरको कोष स्थापना गरिने तर त्यसका लागि अमेरिकाले खर्च गर्नु नपर्ने
७. अमेरिकाले इरानमाथि लगाएका सबै प्रकारका आर्थिक प्रतिबन्धहरू हटाउने तर यसको समयसीमा स्पष्ट छैन
८. इरानले परमाणु अस्त्र खरिद नगर्ने र तेहरानले प्रशोधन गरिसकेको युरेनियमबारे सहमतिमा पुग्ने तर कसरी पुग्ने स्पष्ट छैन
९ र १०. अन्तिम सम्झौतामा नपुग्दासम्म इरानको परमाणु कार्यक्रम यथास्थितिमा रहने
११. रोक्का गरिएको इरानी कोषहरू फुकुवा गरिने
१२-१४. सम्झौता कार्यान्वयनको निगरानी हुने र थप वार्ता गरेर अन्तिम सम्झौतामा पुग्ने








