काठमाडौं, ४ जेठ । बिहीबार नेपालको शेयर बजार घटेर बन्द भएको छ। विश्वभर इरान र अमेरिकाबीच भएको शान्ति समझदारीले शेयर बजार बढ्दा नेपालमा भने उल्टो प्रभाव परेको हो । अघिल्लो कारोबार दिन अर्थात बुधबार सकारात्मक भएर बन्द भएको धितोपत्र बजार यस दिन भने घटेर बन्द भएको हो।
यस दिन धितोपत्र बजार परिसूचक ५.०६ अंक घटेर २७००.४७ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ०.७७ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.३३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३४ अंक घटेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। बुधबार ३ अर्ब ६३ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३ सय ४७ स्टकको ७७ लाख ४३ हजार कित्ता शेयर खरिदबिक्रीबाट ३ अर्ब ४१ करोड ४८ लाख २३ हजार रुपैयाँबराबरको कारोबार भएको छ।
दुई स्टकको शेयर यस दिन पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन एपोलो हाइड्रोपावर र सोपान फर्मास्यूटिकल्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य साढे १२ प्रतिशत बढेको छ भने बुंगल हाइड्रोको शेयरमूल्य साढे ८ प्रतिशत बढेको छ। यस दिन मूल्य घटेका स्टकहरुका गिरावटदर ६ प्रतिशतभन्दा कम रहेको छ।
कारोबार रकमका आधारमा यस दिन आँखु खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३१ करोड ९८ लाख ४७ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन युनाइटेड मोदी हाइड्रोपावरको २३ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने सिईडीबी होल्डिङ्गसको कारोबार रकम १४ करोड रुपैयाँ नाघेको छ।
१३ उपसमूहमध्ये यस दिन ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग, वित्त, लघुवित्त, म्युचुअल फण्ड र व्यापार उपसमूहको परिसूचक सामान्य अंक बढेको हो। यस दिन अन्य उपसमूहको परिसूचक सबैभन्दा बढी ०.८६ प्रतिशत घटेको छ।
दुई तिहाईको सरकार बनेपछि देशको आर्थिक विकासमा कायाकल्प हुने अनुमान गरिएको भए पनि सरकारले आर्थिक क्षेत्रप्रति उदार दृष्टिकोण देखाउन नसकेपछि अर्थतन्त्रको मापक मानिने नेपालको शेयर बजार ओरालो लाग्दै आएको छ ।








