काठमाडौं, १३ असोज । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रे कार्यविभाजन,कार्यसम्पादन र सरकारको कार्यशैलीलाई लिएर देखा परेको मतभेद सार्वजनिक रुपमा छताछुल्ल हुन थालेको छ ।
पार्टीभित्र दुई अध्यक्षको चेपुवामा परेका नेताहरूले पार्टी र आफ्नै सरकारको नेतृत्वको कार्यशैलीप्रति तीव्र असन्तुष्टि जनाउँदै यथाशीघ्र सुधार गर्न ध्यानाकर्षण गराएका छन्।
स्थायी कमिटीका सदस्यहरूबीचको अनौपचारिक भेटवार्तामा सहभागी कैयौँ वरिष्ठ नेताहरूले महँगी, भ्रष्टाचार, बलात्कारलगायत महिला हिंसाजन्य घटना बढ्दा समेत सरकारको कार्यशैलीमा सुधार नदेखिएको भन्दै पार्टीभित्रै तल्लो तहसम्म सरकारको आलोचना भइरहेको छ ।
बिहीवार संसद् बैठकमा सरकारको कार्यशैलीको तिखो आलोचना गर्नुभएका नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले शुक्रवार काठमाण्डौंमा एक चियापान कार्यक्रमको आयोजना गरेर स्थायी कमिटी सदस्यहरुलाई भेला पारी पार्टीभित्र आफ्ना पक्षका नेता कार्यकर्तालाई संगठित गर्ने प्रयास गर्नुभयो ।
सङ्केत

पार्टीका दुवै अध्यक्ष देशबाहिर हुँदा पनि कार्यवाहक जिम्मेवारी नपाएकाले रुष्ट हुनुभएका नेता नेपालले डाकेको भेलामा सरकारले नवनिर्मित पार्टीको साख विगतमा एमालेको एक्लो वा संयुक्त सरकारको जति पनि कायम राख्न नसकेको र जनतामा तीव्र असन्तुष्टि फैलदै गएको नयाँ पार्टीप्रति वितृष्णा उत्पन्न हुँदै गएको निश्कर्ष निकालिएको थियो ।
सरकार बनेको सात(सात महिना बितिसक्यो। पार्टी कमिटीको औपचारिक बैठक बसेर सरकारको बारेमा समीक्षा नगर्दा पार्टीभित्रै पनि विभिन्न अन्योल उत्पन्न भइरहेका छन्
युवराज ज्ञवाली, स्थायी कमिटी सदस्य, नेकपा
भेलामा सरकारले जनअपेक्षानुरुप काम गर्न नसकेको र पार्टीभित्र मनोमानी ढङ्गले अघि बढेको भन्दै यथाशीघ्र स्थायी कमिटीको बैठक बोलाउन सुझाव आएको स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले बतानुभयो।
उहाँले भन्नुभयो, सरकार बनेको सात(सात महिना बितिसक्यो। पार्टी कमिटीको औपचारिक बैठक बसेर सरकारको बारेमा समीक्षा नगर्दा पार्टीभित्रै पनि विभिन्न अन्योल उत्पन्न भइरहेका छन्।
चियापानमा पनि वरिष्ठ नेता नेपालले प्रदेश कमिटीका पदाधिकारी चयन लगायतमा समेत अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले मनोमानी गरेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको थियो ।
गुनासो
तल्लो तहका पार्टी कमिटी एकताबद्ध गर्नसमेत नेतृत्वले आलटाल गरेको भन्दै कतिपय नेताहरूको गुनासो गर्नुभएको थियो।
तर महत्त्वपूर्ण निर्णय हुँदा केही असहमति देखिनुलाई स्वाभाविक भन्दै प्रधानमन्त्री निकट मानिने संसदीय दलका उपनेता सुवास नेम्वाङले भने केही गुनासा हुनु स्वाभाविक भएको भन्दै नेतृत्वको बचाउ गर्नुभएको छ।
मैले बुझेसम्म सचिवालयले सबैले सल्लाह गरेर नै यी विषय टुङ्ग्याइएको हो। यति ठूलो निर्णय हुँदा यसो भएको भए राम्रो हुन्थ्यो भन्ने कुरा त स्वाभाविक हो
सुवास नेम्वाङ, उपनेता, नेकपा संसदीय दल
नेता नेम्वाङले भन्नुभयो, ‘प्रदेश कमिटीका पदाधिकारीको चयन कार्यदलको सिफारिसका आधारमा भएको हो। त्यही निर्णयानुसार सातै प्रदेशमा नेतृत्व स्थापित भएको छ। मैले बुझेसम्म सचिवालयले सबैले सल्लाह गरेर नै यी विषय टुङ्ग्याइएको हो। यति ठूलो निर्णय हुँदा यसो भएको भए राम्रो हुन्थ्यो भन्ने कुरा त स्वाभाविक हो।’
अध्यक्षद्वय केपी ओली र प्रचण्ड दुवैजना देशबाहिर हुनुहुन्छ। प्रधानमन्त्री संयुक्त राष्टसंघको महासभालाई संबोधन गर्न न्यूयोर्क जानुभएको छ भने प्रचण्ड पत्नी सिताको उपचारार्थ सिंगापुर जानुभएको छ ।
तर कार्यवाहक जिम्मेवारी कसैलाई दिइएको छैन। त्यसप्रति पनि नेकपाभित्र असन्तुष्टि देखिएको छ।
(बीबीसीको सहयोगमा)




















