Prakash Adhikari June 29, 2026

काठमाडौँ, १४ असारः काठमाडौँ महानगरपालिकाद्वारा आयोजित प्रथम उपमेयर कप खोखो प्रतियोगितामा छात्रतर्फ शान्ति निकुञ्ज र छात्रातर्फ कन्या मन्दिर मावि विजयी भएका छन् ।

काठमाडौँ महानगरपालिकाले नेपाल खोखो सङ्घसँगको सहकार्यमा असार ११ देखि कीर्तिपुर कभर्डहलमा आयोजना गरेको महानगरस्तरीय सामुदायिक विद्यालयस्तरीय प्रतियोगितामा छात्रतर्फ शान्ति निकुञ्ज मावि र छात्रातर्फ कन्या मन्दिर माविले प्रथम स्थान हासिल गरेका हुन् । यस्तै, छात्रतर्फ विश्व निकेतन मावि दोस्रो र भीमसेनगोला मावि तेस्रो भए भने छात्रातर्फ पद्मकन्या मावि दोस्रो र भीमसेनगोला मावि तेस्रो भयो । उक्त प्रतियोगिता सञ्चालनका लागि काठमाडौँ महानगरपालिकाले रु ३० लाख बजेट विनियोजन गरेको थियो ।

प्रतियोगिताका विजेता खेलाडीलाई काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले नगद, शिल्ड तथा प्रमाण पत्र प्रदान गर्नुभयो । उक्त प्रतियोगितामा प्रथम हुनेलाई रु ५० हजार, दोस्रो हुनेलाई रु २५ हजार र तेस्रो हुनेलाई रु १० हजार नगदसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रतियोगितामा वेष्ट रनर विधाको छात्रतर्फ विश्व निकेतन माविका सूर्य लामिछाने र छात्रातर्फ पद्मकन्या माविकी प्रमिला हस्दा विजेता बन्नुभयो । वेष्ट चेजर विधाको छात्रतर्फ शान्ति निकुञ्ज माविका समीर रौनियार र छात्रातर्फ कन्या मन्दिर माविकी रोजिना तामाङ विजेता बन्नुभयो । उहाँहरूलाई जनही रु १० हजार नगदसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । खेलमा छात्रातर्फ १० र छात्रतर्फ आठ गरी १८ टोलीका २१६ खेलाडी प्रतिस्पर्धामा थिए ।

Share Now