Prakash Adhikari June 29, 2026

 

काठमाडौं, १५ आषाढ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्ड (सेबोन)का नवनियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ।

अर्थ मन्त्रालयमा आयोजित एक विशेष कार्यक्रममा मन्त्री डा. वाग्लेले उहाँलाई पदको शपथ गराउनुभएको हो। यसअघि यही असार ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले डा. भट्टलाई बोर्डको अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको थियो।

शपथग्रहण पश्चात् अर्थमन्त्री डा. वाग्लेले नवनियुक्त अध्यक्ष भट्टलाई पूँजीबजारका लगानीकर्ताको लगानीको सुरक्षा र उनीहरूको हितका लागि पूर्ण इमानदारीका साथ काम गर्न निर्देशन दिनुभयो।

लगानीकर्ताको सम्पत्तिको रक्षा गर्दै बजारमा पुँजी परिचालनमार्फत मुलुकको आर्थिक वृद्धिको लयलाई समात्न नवनियुक्त अध्यक्षले विशेष ध्यान दिनुपर्ने मन्त्री डा. वाग्लेको भनाइ थियो।

उहाँले कुनै पनि प्रकारको लोभ र बाह्य प्रभावमा नपरी पूँजीबजारका साना(ठुला लगानीकर्ताको लगानी सुरक्षित गर्न आग्रह गर्दै यस कार्यमा सरकारले हरदम साथ दिने र सबैखाले सहयोग उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।

अर्थमन्त्री डा. वाग्लेले पूँजीबजार सुधारका कार्यहरूलाई तीव्रता दिनका लागि हरेक दिन, हप्ता, महिना, छ महिना र एक वर्षका स्पष्ट योजनाहरू के(के हुन्, सोको खाका पेस गर्न समेत नवनियुक्त अध्यक्ष भट्टलाई निर्देशन दिनुभएको छ।

बजारमा अनावश्यक र नकारात्मक हल्ला फैलाएर साना लगानीकर्ताहरूमाझ त्रासको वातावरण सिर्जना गरिएको भन्दै अर्थमन्त्री वाग्लेले त्यस्ता भ्रमहरूलाई चिर्न अध्यक्षले विशेष भूमिका खेल्नुपर्नेमा जोड दिनुभएको छ।

उहाँले पूँजीबजार सुधारका योजनाहरू निश्चित समयसीमा बनाएर कार्यान्वयन गर्न, बजारमा लगानीकर्ताको आत्मविश्वास बढाउँदै नियमनकारी भूमिका कुशलतापूर्वक निभाउन र मन्त्रालयबाट कुनै पनि प्रकारको हस्तक्षेप नहुने स्पष्ट पार्दै धेरै बोल्नुभन्दा नतिजामुखी काम गरेर देखाउन निर्देशन दिनुभयो। साथै उहाँले आफूलाई हरेक हप्ता बजारको समग्र अवस्थाबारे ब्रिफिङ चाहिने कुरा समेत उल्लेख गर्नुभयो।

नवनियुक्त बोर्ड अध्यक्ष डा। गोपालप्रसाद भट्टले सरकार र अर्थमन्त्रीको योजना तथा मार्गदर्शन अनुसार पूँजीबजारको चौतर्फी विकासमा इमानदारीपूर्वक खटिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

उहाँले आफ्नो वर्षौँदेखिको ज्ञान, अनुभव र सीपलाई पूर्ण रूपमा बजारका लगानीकर्ताहरूको हित रक्षा गर्न तथा सरकारको आर्थिक वृद्धिको लक्ष्यलाई सघाउने गरी सदुपयोग गर्ने बताउनुभएको छ।

पूँजीबजार सुधारका लागि विभिन्न समयमा गठन भएका समितिहरूले गरेका अध्ययन र सिफारिसहरूलाई क्रमिक रूपमा कार्यान्वयन गर्दै बजारको दिगो विकासमा आफू निरन्तर लागिपर्ने दृढता समेत अध्यक्ष भट्टले व्यक्त गर्नुभयो।

Share Now