Prakash Adhikari July 1, 2026

काठमाडौं, १७ आषाढ । बुधबार नेपालको शेयर बजार बढेर बन्द भएको छ। निरन्तर सात कारोबार दिनदेखि घटिरहेको शेयर बजारमा भएको आशातित बृद्धिले लगानीकर्ताहरुमा खुसी छाएको छ ।

यस दिन धितोपत्र बजार परिसूचक ४४.५९ अंक बढेर २६५२.९३ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ५.७७ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.८२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.०४ अंक बढेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ।  मंगलबार ३ अर्ब २५ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३ सय ६२ स्टकको  ३ अर्ब ८६ करोड ११ लाख ८३ हजार रुपैयाँबराबरको ९५ लाख ४७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन स्नो रिभर्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन ६८ रुपैयाँ १० पैसा बढेर ५२२ रुपैयाँ ३० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन सिवाईसी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १४ प्रतिशतभन्दा बढी बढेको छ भने भुजुङ्ग हाइड्रोपावरको शेयरमूल्य करिब १४ प्रतिशत बढेको छ। कारोबारमा आएको कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य यस दिन ५.२१ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन लक्ष्मी सनराइज बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन २८ करोड ८४ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन रिलायन्स स्पिनिङ्ग मिल्सको साढे १७ करोड रुपैयाँबराबरको शेयर किनबेच भएको छ भने आँखु खोला जलविद्युत कम्पनीको कारोबार रकम १७ करोड रुपैयाँ र भने एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको कारोबार रकम १६ करोड रुपैयाँ नाघेको छ।

यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक २.६० प्रतिशत बढेको छ। त्यस्तै, यस दिन जलविद्युत, उत्पादन तथा प्रशोधन र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने बैंकिङ्ग, विकास बैंक, वित्त, होटल तथा पर्यटन, लगानी, जीवन बीमा, लघुवित्त र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

Share Now