Prakash Adhikari July 6, 2026

काठमाडौं, २२ आषाढ । साताको पहिलो कारोबार दिन सोमबार पनि नेपालको शेयर बजार ओरालो लागेको छ । यस दिन धितोपत्र बजार परिसूचक २६.२९ अंक घटेर २६२७.११ विन्दुमा झरेको छ।

धितोपत्र बजार परिसूचक सँगै यस दिन कारोबार रकम पनि घटेको छ। गत शुक्रबार ४ अर्ब ४१ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३ सय ५६ स्टकको ७५ लाख ४० हजार कित्ता शेयर खरिदबिक्री ३ अर्ब ५५ करोड ७९ लाख ८१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

तीन स्टकको शेयर यस दिन पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन स्नो रिभर्स, सानिगाड हाइड्रो र कालंगा हाइड्रोको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य साढे ११ प्रतिशत बढेको छ। कारोबारमा आएको थ्रि स्टार हाइड्रोपावरको शेयरमूल्य यस दिन सर्वाधिक १३.७९ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन ८.५ प्रतिशत नेपाल इन्भेष्टमेन्ट बैंक डिबेञ्चर २०८४ शीर्ष स्थानमा रहेको छ। यस दिन ५३ करोड ९४ लाख रुपैयाँबराबरको सो ऋणपत्र कारोबार भएको छ। त्यस्तै, यस दिन सेन्ट्रल फाइनान्सको साढे १५ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको करिब १३ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको छ।

यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक ३.१५ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन बैंकिङ्ग, वित्त, र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

Share Now