काठमाडौं, २२ आषाढ । भदौ २३-२४ को जेनजी आन्दोलन पछि विभाजोन्मुख बन्दै गएको नेपाली कांग्रेस विभाजनको अन्तिम चरणमा पुगेको छ । पार्टीको प्रक्रिया नपुगेको विशेष महाधिवेशन र त्यसले निर्वाचित गरेको कार्यसमितिसंग असन्तुष्ट पक्षले आज एक कार्यक्रमबीच काठमाडौंको चुनदेवीमा कार्यालय खोलेको छ । कार्यालयको इतर समूहको नेतृत्व गरिरहनुभएका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले साँचो खोलेर उद्घाटन गर्नुभएको हो ।
उद्घाटन कार्यक्रममा शशांक कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौलालगायत सहभागी थिए। त्यसअघि नेताहरूबीच छलफल भएको थियो ।
छलफलमा पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनदेखि हालसम्मका घट्नाक्रमको जानकारी गराउनुभएको थियो ।
ब्रिफिड.मा खड्काले भन्नुभयो, ‘हामी अहिले शेखर कोइरालासहित १११ जना छौँ । १११ जनालाई केन्द्रीय कार्यसमितिमा समायोजनको प्रस्ताव गरेका हौँ । सातबुँदेको जवाफ भेटेकै दिन उपसभापति विश्वलाई दिएको हुँ ।लिखित दिनुस् भन्नुभएको थियो । मैले जसरी हामीलाई व्हाटस्एपमा पठाउनु भयो, त्यसै गरी टाइप गर्नुस भनेँ । टाइप गर्नु भो ।’
उहाँले थप्नुभयो, ‘टाइप गरेर सुनाउनु भो । यही हो दाइ फाइनल भन्नु भयो । मैले हो भनेँ । अनि उहाँले गगनजीलाई सबै कुरा सुनाउँछु । तपाईं पनि नेताहरुलाई सुनाउनुस्, गगनजीसँग आफैं गएर छलफल गर्नुस् भन्छु भन्नू भो ।
खड्काले उपसभापति विश्वप्रकाश शर्माले आफू र शेखर कोइरालालाई वरिष्ठ नेता बनाउने सहमति भइसकेको बताएको पनि ब्रिफिङ गर्नुभयो ।
तर आफूले त्यसलाई अस्वीकार गरेको उहाँको भनाइ थियो । विश्वसँग भेटेपछि भोलिपल्ट केही आउला भनेर आफूले कुरेको तर केही खबर नआएको पनि उहाँले सुनाउनुभयो ।
‘भोलि बिहान ९ बजेसम्म कुरे । कुनै खबर आएन । केही बेरपछि महामन्त्री प्रदीप पौडेललाई कोट गरेर समाचार आयो( शीर्ष नेताको सदस्यता स्वतः अधावधिक भनेर । मलाई देशभरबाट फोन आयो, आफ्नो अधावधिक हुने, हाम्रो नहुने भनेर । मैले समचारको खण्डन गरेँ सामाजिक सञ्जालबाट । अनि फोन आउन बन्द भयो’ उहाँले भन्नुभयो ।
उहाँले अब भोलिदेखि २र३ दिन नियमित छलफल गर्ने पनि बताउनुभयो । साउन ६ बीपी जयन्ती विशेष कार्यक्रम गर्ने उहाँको भनाइ छ ।








