काठमाडौं, १६ असोज । आईसिसी टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गत एशिया सवक्षेत्रीय प्रतियोगिताका लागि नेपाली टिम सोमबार मलेसिया प्रस्थान गरेको छ ।
पारस खड्काको कप्तानीमा रहेको १४ सदस्सीय नेपाली टोली अपराह्न १ बजे मलेसिया प्रस्थान गरेको हो । प्रतियोगितामा नेपालसँगै मलेसिया, भुटान, सिंगापुर, चीन, म्यानमार, थाइल्याण्ड रहेका छन ।
नेपालले पहिलो खेल बिहिबार म्यानमारसंग खेल्नेछ भने दोस्रो खेलमा मलेसियासंग अक्टोबर ६ मा प्रतिस्पर्धा गर्नेछ । नेपालको तेस्रो प्रतिद्वन्दी थाइल्याण्ड रहेको छ ।
नेपाली टोलीमा प्रदिप ऐरीले पुनरागमन गरेका छन् । चोटका कारण प्रदीप सन् २०१५ पछि पहिलोपटक टिममा परेका हुन् ।
प्रतियोगिताबाट शीर्ष तीन टोलीले एसिया छनोटमा स्थान बनाउने छन् । एसिया छनोटमा युएइ कतारले स्थान बनाइसकेका छन । एसिया छनोटमा ७ टोलीले प्रतिस्पर्धा गर्नेछन ।
अष्ट्रेलियामा हुने टी(ट्वान्टी विश्वकप सन् २०२० को अक्टोबर १८ देखी १५ नोभेम्बरसम्म हुनेछ । जसमा १६ टोलीले खेल्नेछन् ।
सन् २००६ को सहज जितको इतिहास
सन २००६मा मलेसियाको क्लब अमन मैदानमाभएको एसीसी ट्रफीको समुह चरण खेलमा म्यानमारलाई सहज ढंगले पराजित गरेको थियो । नेपाल प्रतियोगिताको अघिल्लो ३ खेलमा हंगकंग, भुटान र कुवेतलाई सजिलै हराउदै एसीसी ट्रफी जित्ने अभियानमा थियो।
नेपालले टस जित्यो र कप्तान बिनोद दासले पहिले बलिंग गर्ने निर्णय गरे। बलिंग गर्न आए मेहबुब आलम। उनले पहिलो बलमै विकेट लिए । म्यानमार ओपनर ओमर खाता नखोली आलमको एलबिडब्लु धरापमा परे।
चौथो बलसम्म खाता खोल्न नसकेको म्यानमारलाई आलमले पुनः झट्का दिए। यसपालि आलमले म्यानमार ब्याट्सम्यान मोहम्मदको स्टम्प उडाईदिए। आलमले दोश्रो ओभरको पहिलो र पाँचौ बलमा विकेट लिंदै स्कोर र रन बराबर बनाईदिए। अब्दुल रहमानको स्टम्प ढालेका आलमले शरजिललाई राजु बस्नेतको हातमा क्याच थमाए। ४ रनमै ४ वटै विकेट गुमाएको म्यानमार गम्भीर संकटमा पुग्यो।
आलमले सातौँ ओभरको दोश्रो र पाँचौ बलमा छैठौं र सातौँ नम्बरका ब्याट्सम्यानलाई पनि पाखा लगाईदिए। स्कोर पुग्यो ७ रन ६ विकेटको नोक्सानी।त्यसपछि बलिड.मा आएकाकप्तान बिनोद दासले २० बल खेल्दै जर्कारीयालाई आउट गरे । यसरी स्कोर पुग्यो ७.५ ओभरमा ७ विकेटको क्षतिमा म्यानमारले ८ रन मात्र जोड्न सक्यो ।
बिनोदले ८ बलमा १ रन बनाएका जिन मिन आटउ गरे । यसरी ९ रनमै म्यानमारको ८ विकेट गुम्यो, १० ओभरको समाप्तिमा।
१२ औ ओभरको दोश्रो बलमा आकाश गुप्तालाई क्याच थमाएर विनोद दासले नवौं विकेट लिए । बाँकी १ विकेट, आलमले लिए । १० रनमै समेटियो म्यानमार ।
११ रनको लक्ष्य पाएको नेपालले ब्याटिंग गर्न आईपुगे महेश क्षेत्री र धिरेन्द्र चन्द। ओपनिंग बलिंग गर्न आएका म्यानमार बलर ए मिन थनले फालेका ३ वटा वाइड बलमा नेपालले २ रन लियो। महेश क्षेत्री र धिरेन्द्र चन्दले खेलेको २ बलमा ३र३ रन बटुले पछि नेपालले २ बलमै खेल जित्यो।
खेलको म्यान अफ द म्याच ७ विकट लिएका मेहबूब आलम घोषित भए।
प्रतियोगितामा नेपाल सेमीफाइनलमा युएईसंग ९ विकेटले पराजित हुन पुग्यो। फाइनलमा युएईले हंगकंगलाई ५ विकेटले पराजित गर्दै प्रतियोगिताको उपाधि जितेको थियो। तेश्रो स्थानको लागि भएको प्लेअफमा पनि नेपालले ६४ रनको हार बेहोर्न पुगेको थियो।
नेपाल फेरी एक पटक म्यानमारसंग खेल्ने भएको छ ।।


















