काठमाडौँ, २६ असारः सरकारले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि भएको घटनामा परी गम्भीर रूपमा जलन भएका गणेश नेपालीको सम्पूर्ण उपचार खर्च उपलब्ध गराउने भएको छ ।
हाल वीर अस्पतालमा उपचाररत नेपालीको थप तथा विशिष्टिकृत उपचारका लागि तत्कालै भारतको नयाँ दिल्लीस्थित ‘अखिल भारतीय आयुर्विज्ञान संस्थान’ (AIIMS) लैजाने तयारी गरिएको छ ।
बिरामीको स्वास्थ्य अवस्था बुझ्न र उपचार प्रक्रियालाई तीव्र बनाउन गृहमन्त्री सुधन गुरुङ र प्रधानमन्त्रीको सचिवालयका सदस्यहरू बिहीबार वीर अस्पताल पुग्नुभएको थियो । उहाँहरूले अस्पतालका चिकित्सक टोलीसँग घाइतेको पछिल्लो स्वास्थ्य स्थिति र उपचारको प्रगतिका बारेमा प्रत्यक्ष जानकारी लिनुभएको थियो ।
चिकित्सकसँगको परामर्श र अवस्थाको गम्भीरतालाई ध्यानमा राख्दै उहाँहरूले बिरामीलाई तत्काल भारत लैजान आवश्यक प्राविधिक तथा व्यवस्थापकीय तयारी चुस्त बनाउन निर्देशन दिनुभएको छ ।
प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशनमा घाइते नेपालीलाई थप उपचारका लागि भारत लैजाने प्रक्रिया अघि बढाइएको हो ।
यसअघि बिहीबार दिउँसो त्रिपुरेश्वरस्थित राहदानी विभागको ३ नम्बर गेटअगाडि राइड सेयरिङ एपमार्फत सेवा दिँदै आएका गणेश नेपालीले आत्मदाहको प्रयास गर्नुभएको थियो।
काठमाडौं महानगर प्रहरी बलले उहाँको मोटरसाइकलमा ‘ह्वील लक’ लगाएपछि भएको विवादका क्रममा उनले मोटरसाइकलबाट पेट्रोल निकालेर शरीरमा खन्याई आगो लगाउनुभएको थियो।
मुगुका २५ वर्षीय गणेश नेपाली राईड सेयरिड.मार्फत सेवा दिंदै आउनुभएको थियो । उहाँको बाइकमा नगरप्रहरीले साढे ११ बजे ह्वील लक लगाएको थियो। उहाँ लगभग साढे १ बजेतिर उहाँ आउनुभयो । सरकारले रोजगारी नदिएपछि स्वरोजगारीको लागि ऋणधन गरेर राईडिड. सेवा दिएका नेपालीले सरकारले ऋण काढेर स्वरोजगार बन्न खोज्दा पनि गरिखान नदिएपछि त्यही ह्वील लक लगाएको आफ्नो बाइकको तेल निकालेर शरीरमा खन्याउदै आगो लगाउनुभएको थियो ।








