काठमाडौँ, ५ साउन। प्रदेश सरकारको नेतृत्व परिवर्तन गर्ने सम्बन्धमा छलफल गर्न एमाले अध्यक्ष के.पी. शर्मा ओलीले समय नदिएको भन्दै एमालेसंगको सहकार्य भंग गरेको कांग्रेसले प्रदेश सरकारहरु गुमाउने जोखिम बढेको छ ।
जेन जी आन्दोलनबाट किनारामा पुर्याइनुभएका नेकपा एमालेका अध्यक्ष के.पी. शर्मा ओलीले प्रदेश सरकारमार्फत शक्ति आर्जन गर्ने र वामपन्थी एकता कायम गर्ने नयाँ प्रक्रिया थाल्नुभएको छ ।
यसै सन्दर्भमा प्रदेश सरकार गठनको विषयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बिच मंगलवार भेटवार्ता भएको छ ।
मंगलबार उनीहरूबिच दिउँसो १ बजेदेखि ३ बजेसम्म करिब २ घण्टा भेटवार्ता भएको नेकपाका प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिनुभएको छ ।
नेकपाका प्रवक्ता ज्वालाका अनुसार प्रदेश सरकार गठनको विषयमा प्रदेशमा रहेका सबै दलहरूसँग सर्वदलीय सरकार गठनको लागि पहल गर्ने र त्यसपछि फेरि दुई नेताबिच बसेर सहमतिको ड्राफ्ट (खाका) तयार हुनेछ ।
उहाँहरुबीच ‘दिउँसो करिब दुई घण्टा भेटवार्ता भएको थियो । त्यसका लागि पार्टी संयोजक प्रचण्ड र सहसंयोजक माधव नेपालबिच सोमवार कुराकानी भएको थियो । त्यही कुराकानी अनुसार नै नेकपा संयोजक प्रचण्डले आज एमाले अध्यक्षसँग भेटवार्ता गर्नुभएको हो ।
प्रवक्ता ज्वालाका अनुसार सरकार गठनको विषयमा नेकपा एमालेसँग कुनै सहमति भईसकेको छैन । प्रचण्ड मधेसको कार्यक्रम सकेर काठमाडौँ आएपछि मात्र सहमतिको ड्राफ्ट बन्छ । सहमति अगाडि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससँग पनि एक चरण छलफल हुन्छ । त्यसपछि मात्रै के गर्ने भन्ने विषयमा पार्टीले निर्णय गर्छ ।
प्रदेश सरकार गठनको विषयमा एमालेबाट उपाध्यक्ष रामबहादुर थापा र महासचिव शंकर पोखरेल तथा नेकपाबाट वर्षमान पुन र प्रमेश हमालले पहल गरिरहनुभएको छ।
यता कांग्रेसबाट उपसभापति विश्वप्रकाश शर्मा र महामन्त्री गुरुराज घिमिरेले नेकपासंग मिलेर प्रदेश सरकार बनाउन गरिरहनुभएको छ।








