Prakash Adhikari August 6, 2026

काठमाडौं, २१ साउन। नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशक पदमा नागेन्द्र साह नियुक्त हुनुभएको छ। मन्त्रिपरिषद्को बैठकले साहलाई निगमको कार्यकारी प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको हो।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आह्वान गरेको खुला प्रतिस्पर्धात्मक प्रक्रियामार्फत उहाँ कार्यकारी निर्देशक पदमा चयन हुनुभएको हो। अन्तिम प्रतिस्पर्धामा रहेका प्युठानका कौशल केसी र सप्तरीका सञ्जीवकुमार देवलाई पछि पार्दै साहले यो जिम्मेवारी पाउनुभएको हो।

नवनियुक्त कार्यकारी निर्देशक साह आयल निगमका अनुभवी अधिकारी हुनुहुन्छ। उहाँले यसअघि निगमको नायब कार्यकारी निर्देशकका साथै निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी कुशलतापूर्वक सम्हालिसक्नुभएको छ।

यसअघि निगमको कार्यकारी निर्देशक पदमा चण्डिकाप्रसाद भट्ट हुनुहुन्थ्यो। नयाँ सरकार गठनभएसँगै अघिल्लो सरकारले गरेका नियुक्तिहरू रद्द गर्ने निर्णय गरेपछि भट्ट स्वतः पदमुक्त हुनुभएको हो। त्यसपछि रिक्त रहेको उक्त पदमा खुल्ला प्रतिस्पर्धाबाट साहलाई नियुक्त गरिएको हो।

Share Now