Prakash Adhikari August 14, 2026

काठमाडौं, २९ साउन । पत्रकार किशोर श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ ।

बन्दी प्रत्यक्षीकरणको रिटमा न्यायाधीश बालकृष्ण ढकालको इजलासले बरामद सामग्रीसहित अदालतमा उपस्थित गराउन आदेश दिएको हो । उहाँको पक्राउविरुद्ध श्रीमती सरस्वतीले बन्दी प्रत्यक्षीकरणको रिट दायर गर्नुभएको थियो ।

वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको आरोपमा श्रेष्ठलाई प्रहरीले बुधबार राति पक्राउ गरेको थियो ।

साथै जनआस्था साप्ताहिकको कार्यालय र श्रेष्ठको निवास खानतलासी गरी कम्प्युटर, ल्यापटप, मोबाइल लगायतका विद्युतीय सामग्री समेत प्रहरीले जफत गरेको छ ।

उहाँमाथि अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले विहीबार तीन दिनको म्याद दिएको थियो ।

विश्व प्रेस काउन्सिलका वरिष्ठ उपाध्यक्षसमेत रहनुभएका श्रेष्ठ प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष एवम् नेपाल पत्रकार महासंघका पूर्व महासचिव हुनुहुन्छ।

उहाँलाई पक्राउ गरेको र जनआस्थाको कार्यालयमा खानतलासी गरेकोमा नेपाल पत्रकार महासंघ, नेपाल मिडिया सोसाइटी, विश्व प्रेस काउन्सिल, विभिन्न राजनीतिक दलहरुले विरोध गर्दै निःशर्त रिहा गर्न माग गर्दै आएका छन् ।

उहाँलाई अहिले जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको छ ।

Share Now