बेइजिड.(चीन),२४ असोज (बीबीसी) । चीनले अन्तर्राष्ट्रिय प्रहरी निकाय इन्टर्पोलका प्रमुख मङ खुङ्वे आफ्नो नियन्त्रणमा रहेको पुष्टि गरेको छ।
प्रस्ट नपारिएको कानुनको उल्लङ्घनबारे भ्रष्टाचार नियन्त्रणसम्बन्धी निकायले उनीमाथि अनुसन्धान गरिरहेको बेइजिङले जनाएको छ।
चीनको सार्वजनिक सुरक्षासम्बन्धी उपमन्त्री रहिसकेका मङ फ्रान्सस्थित इन्टर्पोलको मुख्यालयबाट सेप्टेम्बर २५ मा चीन गएपछि बेपत्ता भएका थिए।
तत्काल लागु हुने गरी अध्यक्ष पदबाट मेङको राजीनामापत्र आइतवार प्राप्त भएको इन्टर्पोलले जनाएको छ।
चर्चित
सार्वजनिक पद धारण गरेका मानिसहरूले गर्ने भ्रष्टाचारबारे अनुसन्धान गर्ने राष्ट्रिय सुपरिवेक्षण आयोगले मङमाथि अनुसन्धान भइरहेको आफ्नो वेब्साइटमा राखेको एउटा विज्ञप्तिमा उल्लेख गरेको छ।
चीनमा बेपत्ता हुनेमा मङ पछिल्लो चर्चित व्यक्ति हुन्। पछिल्ला महिनाहरूमा उच्च सरकारी अधिकारीहरू, अर्बपति र लोकप्रिय व्यक्तित्वहरू बेपत्ता भएका छन्।
गत जुलाइदेखि बेपत्ता भएकी चिनियाँ अभिनेत्री फान बिङ्बिङले गत हप्तामात्रै एउटा सार्वजनिक क्षमायाचना गरेकी थिइन्।
फानलाई करछलीसहितका अभियोगमा १२ करोड ९० लाख अमेरिकी डलर जरिवाना तिर्न आदेश दिइएको छ।
इन्टर्पोलले के भनेको छ?
सामाजिक सञ्जाल ट्विटरमा राखेको एउटा वक्तव्यमा इन्टर्पोलले तत्काल लागु हुने गरी मङको राजीनामापत्र प्राप्त भएको जनाएको छ।
आफ्नो प्रावधान अनुसार उसले हाल उपाध्यक्ष रहेका दक्षिण कोरियाली नागरिक किम जङ याङलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको छ।
आगामी महिना दुबईमा हुने इन्टर्पोलको महासभाले बाँकी दुई वर्षे कार्यकालका लागि अध्यक्ष चयन गर्नेछ। मङको कार्यकाल सन् २०२० सम्मका लागि थियो।
इन्टर्पोलले मङको अवस्थालाई लिएर आफू चिन्तित बनेको भन्दै उनीबारे स्पष्ट पार्न चीनलाई शनिवार आग्रह गरेको थियो।
अनुसन्धान थालिसकेको बताएको फ्रान्सले आफूसँग थप जानकारी नभएको आइतवार बताएको थियो।
मङकी श्रीमतीले के भनिन्?
चीनले हिरासतमा लिएको पुष्टि गरे लगत्तै बोल्दै ग्रेस मङले आफ्ना श्रीमान् खतरामा रहेको आफूलाई लागेको पत्रकारहरूलाई बताइन्।
आफ्ना श्रीमान्को अवस्था पत्ता लगाउनका लागि सघाइदिन उनले अन्तर्राष्ट्रिय समुदायलाई आइतवार एउटा भावुक अपील गरेकी थिइन्।
बेपत्ता भएको दिन मङले सामाजिक सञ्जालमा ‘मेरो फोनको प्रतीक्षा गर्नू’ भन्दै चक्कुको चिह्नसहितको आफूलाई सन्देश पठाएको उनले बताइन्।
उनले भनिन्, “उहाँलाई के भएको छ भन्ने कुरा मलाई थाहा छैन।”

मेङ होङ्वेईकी श्रीमती ग्रेस मेङ
सुरक्षाका कारण मुख नदेखाइ आँशु थाम्दै उनले चिनियाँ र अङ्ग्रेजी भाषामा लेखिएको एउटा वक्तव्य पढिन्।
“हामी सधैँ मुटुहरूले जोडिएका छौँ। यो विषय निष्पक्षता र न्यायसँग जोडिएको छ।”
“यो विषय अन्तर्राष्ट्रिय समुदायसँग जोडिएको छ। यो विषय मेरो मातृभूमिका मानिसहरूसँग जोडिएको छ।”
प्यारिसस्थित बीबीसीका ह्यू स्कोफिल्डको विश्लेषण
विमानबाट चीनमा ओर्लिनासाथ मङ खुङ्वेलाई पक्राउ गरिएको हुनसक्छ भन्ने मानिसहरूले जे लख काटेका थिए, चिनियाँ अधिकारीहरूले त्यसैलाई पुष्टि गरेका छन्।
भ्रष्टाचारविरोधी निकायले मङलाई नियन्त्रणमा लिएको खबरले राष्ट्रपति सि जिनपिङको भ्रष्टाचारविरोधी बृहत् अभियान अन्तर्गत उनलाई समातिएको दर्शाउँछ।
उक्त अभियानका कारण कैयौँ वरिष्ठ अधिकारीहरू बेपत्ता भएका छन्।
मेङलाई के भएको छ भन्ने कुरा त अहिले स्पष्ट भएको छ। तर उनीविरुद्ध के कस्ता अभियोग लगाइँदैछ र उनको भविष्य के हुनेछ भन्ने कुरा सदाझैँ अस्पष्ट नै छ।
को हुन् मङ खुङ्वे?
-नोभेम्बर २०१६ मा इन्टर्पोलको अध्यक्ष निर्वाचित
-कार्यकाल सन् २०२० सम्म
-चिनियाँ कम्युनिस्ट पार्टीका अधिकारी
-चीनका सार्वजनिक सुरक्षा मामिलाका पूर्वउपमन्त्री
-आपराधिक न्याय र प्रहरी सङ्गठनमा ४० वर्ष लामो अनुभव।
-मङ चिनियाँ कम्युनिस्ट पार्टीका वरिष्ठ अधिकारी हुन्।
सन् २०१६ मा इन्टर्पोलमा अध्यक्ष निर्वाचित हुनुअघि मङ सार्वजनिक सुरक्षा मामिलाका उपमन्त्री थिए।

उनी इन्टर्पोलमा निर्वाचित भएपछि मानव अधिकारवादी समूहहरूले भिन्न राजनीतिक मत राखेर चीन छोडेकाहरूलाई उनीमार्फत् खोज्न चीनलाई सहयोग पुग्न सक्ने भन्दै टिप्पणी गरेका थिए।
तर मङले संसारभरि प्रहरीलाई बलियो बनाउन काम गर्ने बताएका थिए।
उनीसँग आपराधिक न्याय, लागुऔषध, प्रतिआतङ्कवाद र सीमा सुरक्षाबारे ४० वर्ष लामो अनुभव भएको इन्टर्पोलले जनाएको छ।
खोजी गरिएको व्यक्तिका लागि इन्टर्पोलले संसारभरि रेडकर्नर नोटिस जारी गर्न सक्छ।
तर उसले कसैलाई पक्राउ गर्न, प्रहरी खटाउन वा पक्राउपुर्जी जारी गर्न सक्दैन।


















