कर्णाली, ३ भदौः कर्णाली र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत प्राप्त भएको छ । बुधवार बसेको प्रदेश सभा बैठकबाट कर्णालीका मुख्यमन्त्री मङ्गलबहादुर शाही र सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत प्राप्त गर्नुभएको हो।
कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको आठौँ अधिवेशनको आज बसेको २७औँ बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मत प्राप्त गर्नुभएको हो । बैठकमा प्रदेश सभामुख नन्दा गुरुङले नेपालको संविधानको धारा १८८ को उपधारा १ बमोजिम प्रदेशसभा समक्ष विश्वासको मतका लागि वक्तव्यसहित मुख्यमन्त्री शाहीलाई कर्णाली प्रदेशसभा नियमावली २०८१ नियम १५१ को उपनियम ४ बमोजिम सभामा प्रस्ताव पेश गर्न समय दिनुभयो ।
सोही अनुसार मुख्यमन्त्री शाहीले बैठकमा प्रस्ताव पेश गरेसँगै आवश्यक छलफलपश्चात् सभामुख गुरुङले मत विभाजनको प्रक्रिया सुरु गर्नुभयो । कुल ४० प्रदेशभा सदस्यमा ३६ सभा सदस्यले मतदान गरेका थिए । मुख्यमन्त्री शाहीको पक्षमा २१ जनाले तथा विपक्षमा १३ जनाले मतदान गरेका थिए । दुई जना तटस्थ बसेका सभामुख गुरुङले बताउनुभयो ।
विश्वासको मतको पक्षमा २१ मत परेको र उक्त मत तत्कालीन प्रदेशसभामा कायम रहेको सम्पूर्ण सदस्य सङ्ख्याको बहुमत भएको बताउँदै सभामुख गुरुङले नेपालको संविधानको धारा १८८ को उपधारा १ तथा कर्णाली प्रदेशसभा नियमावलीको १८१ नियम १५१ को बमोजिम मुख्यमन्त्री शाहीले विश्वासको मतका लागि सभासमक्ष राख्नुभएको प्रस्ताव बहुमतले पारित भएको घोषणा गर्नुभयो ।
प्रदेशसभाको अर्को बैठक भदौ ४ गते दिउसो ३ः०० बस्ने बस्नेछ ।
सुदूरपश्चिमका मुख्यमन्त्री भट्टलाई विश्वासको मत
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत प्राप्त गर्नुभएको छ ।
प्रदेशसभाको आजको बैठकमा विश्वासको मतसम्बन्धी मुख्यमन्त्री भट्टले राखेको प्रस्तावमा मत विभाजन गर्दा प्रस्तावको पक्षमा ३१ मत प्राप्त भएको सभामुख भीमबहादुर भण्डारीले सभालाई जानकारी गराउनुभयो ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका नेता भट्टलाई नेपाल कम्युनिस्ट पार्टी (एमाले) को समर्थन रहेको छ । प्रदेशसभामा नेकपाका २२ प्रदेशसभा सदस्य रहेका छन्, जसमा सभामुख र एक सदस्य निलम्बित अवस्थामा हुनुहुन्छ । यस्तै, एमालेका ११ प्रदेशसभा सदस्य हुनुहुन्छ ।
मुख्यमन्त्री भट्टको विपक्षमा १५ मत परेको छ । यहाँ विपक्षमा नेपाली कांग्रेसका १४ र राप्रपाका एक प्रदेशसभा सदस्य रहेका छन् । आजको बैठकमा कांग्रेसका पदम शाही, मानबहादुर रावल र मधु भारती अनुपस्थित हुनुहुन्थ्यो ।