Prakash Adhikari October 11, 2018

पोखरा(कास्की),२४ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उच्च सरकारी वकिल कार्यालय पोखरा र मालपोत कार्यालय कास्कीका अधिकृतहरुले सेवाग्राहीसंग घुस लिदालिदै रंगेहात पक्राउ परेको दावी गरेको छ ।

आयोगका अनुसार उच्च सरकारी वकिलको कार्यालय पोखराका सह(न्यायधिवक्ता सुरेन्द्रबहादुर थापाले ठगी मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन नगरिदिने प्रलोभन देखाइ सेवाग्राहीसँगघुस माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटिइ गएको टोलीले निजलाई रु ५,००,०००।– (पाँच लाख ) घुस बापतको रकम लिइसकेको अवस्थामा निजकै कार्यकक्षबाट बुधबार नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको जनाएको छ।

त्यस्तै मालपोत कार्यालय,कास्कीमा कार्यरत मालपोत अधिकृत खेमनारायण पौडेल र खरिदार सञ्जय शर्माले जग्गा धितोबन्धक पास गर्ने सिलसिलामा सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटिइ गएको टोलीले रु ५०,०००।– (पचास हजार) घुस रकम लिएको अवस्थामा उनीहरुलाई कार्यालयभित्रबाट असोज २३ गते मंगलबार नियन्त्रणमा लिइ अनुसन्धान कार्य भइरहेको बताएको छ ।

Share Now

Leave a comment.