Prakash Adhikari August 24, 2026
  • निकीता यादव
    बीबीसी न्यूज

नयाँदिल्ली(भारत), ८ भाद्र । भारतका जेनजी पुस्ताका कैयौँले नरेन्द्र मोदीलाई साथी नठान्लान्। तर भारतीय प्रधानमन्त्री उनीहरूसँग त्यसैगरी कुरा गर्न खोज्दै हुनुहुन्छ।

७५ वर्षीय भारतीय प्रधानमन्त्रीले लामो समययता आफ्ना भाषण, औपचारिक सम्बोधन तथा सचेततापूर्ण निर्मित छविमार्फत् बलियो नेताको रूपमा आफूलाई प्रस्तुत गर्दै आउनुभएको छ।

उहाँले पछिल्ला साताहरूमा आफूलाई थोरै अनौपचारिक शैलीमा युवाहरूमाझ लोकप्रिय फोटो तथा भिडिओ प्ल्याटफर्म इन्स्टाग्राममा पेश गरिरहनुभएको छ।

बदलिएको शैली

एक महिना अगाडिसम्म मोदीको टाइमलाइनमा सचेततापूर्ण छानिएका पोस्टहरू मात्र हुन्थे।

अहिले भने स्पष्ट तथा युवाहरूलाई सम्बोधन गरिएका सेल्फी शैलीका भिडिओ राखिएका छन् जसमा उहाँले युवाहरूलाई मित्र भनेर सम्बोधन गर्नुभएको छ ।

एउटा भिडिओमा उहाँले जेनजी युवाहरूमाझ चर्चित शब्दावली प्रयोग गर्दै दिल्लीको एक विद्यार्थी दीक्षान्त समारोहलाई सम्बोधन गर्नुभएको देखिन्छ।

इन्स्टाग्राममा भारतीय प्रधानमन्त्री मोदीका १० करोड ६० लाख फलोअर्स छन्। सो प्ल्याटफर्ममा अत्यधिक फलोअर्स हुने विश्वका थोरै राजनीतिक नेताहरूमा उहाँ पर्नुहुन्छ ।

तर विगतमा सो प्ल्याटफर्ममार्फत् हुने उहाँका सञ्चारको लवज उहाँको टोली वा भारतीय जनता पार्टी (बीजेपी)को सामाजिक सञ्जाल रणनीतिको केन्द्रमा थिएन।

जबकि डिजिटल दुनियाँमा अरूलाई जितेकै कारण सन् २०१४ को आम निर्वाचनमा सो पार्टीले विजय हासिल गर्न सकेको चर्चा गरिन्छ।

तर यो वर्ष भारतमा भएको युवाहरूको विरोध प्रदर्शनले परिस्थिति बदलियो।

व्यङ्ग्यात्मक कारणले गठित कक्रोच जनता पार्टी (सीजेपी)को नेतृत्वमा भएको आन्दोलन मिम, लाइभ स्ट्रीम तथा इन्स्टाग्राम रिलबाट सुरु भयो र सङ्घीय मन्त्रीले राजीनामा दिनुपर्ने गरी बलियो बन्यो।

ठट्टै ठट्टामा बनेको सीजेपीसँग अनलाइन गतिविधिलाई सडक परिचालनसम्म पुर्‍याउन सक्ने क्षमता देखेपछि बीजेपी चकित परेको देखिन्छ।

एक दशकभन्दा बढ्ता समयदेखि सो हिन्दू राष्ट्रवादी पार्टीले ह्वाट्सएप ग्रुप, फेसबुक पेज तथा एक्समार्फत् आफूलाई अनलाइनमा सशक्त राजनीतिक शक्ति बनाएको लेखक तथा टिप्पणीकार अनुराग माइनस वर्माले बताउनुभयो।

तर युवा भारतीयहरूले अनलाइन सामग्री तथा राजनीतिलाई फरक ढङ्गले उपभोग गर्छन्।

भारतको कुल जनसङ्ख्याको ६० प्रतिशत भन्दा धेरै ३५ वर्षभन्दा कम उमेरका छन्। अनि जेनजी (१९९७ र २०१२ का बीचमा जन्मिएकाहरू) समूह सन् २०२९ को आगामी आम निर्वाचनताका देशको सबभन्दा विशाल मतदाता समूहमध्ये एक हुने जानकारहरूले प्रक्षेपण गरेका छन्।

पोस्टमाथि व्यङ्ग्य

जेनजीहरूको मन जित्नु भनेको इन्स्टाग्रामजस्ता प्ल्याटफर्ममा उनीहरूसम्म पहुँच पुर्‍याउनु हो जहाँ परम्परागत राजनीतिक सन्देश प्रवाहभन्दा व्यक्तिगत तथा नछाँटिएका सामग्रीहरू ज्यादा रुचाइन्छन्।

त्यो फेरबदल तब देखियो जब इन्स्टाग्राममा मोदीका पोस्ट देखा परे। युवाहरूले तत्कालै ती पोस्टमाथि व्यङ्ग्य कसे।

युवा प्रदर्शन जारी रहँदै गर्दा त्यसबारे मौनता तोड्दै उहाँले बनाएको पहिलो सेल्फी भिडिओ रिलप्रति कतिपय मानिसले व्यङ्ग्य गरे।

त्यसमा मोदीले मित्रहरू भनेपछि केही बेर रोकिएको दृश्यलाई तिनले औँल्याए।

त्यसका विभिन्न भर्सनहरू अनलाइनमा ट्रेन्ड गर्न थाले जसमा प्रयोगकर्ताहरूले सम्पादन गरेका, जोक थपेका तथा त्यस भिडिओको प्रकाश र क्यामरा एङ्गलबारे ठट्टा गरेका देखिन्थे।

त्यसपछिका पोस्टहरूमा मोदीका टोलीले ती विषयहरूमा ध्यान पुर्‍याएको देखिन्छ।

कतिपय युवाहरूले मोदीको प्रयासको सराहना गरेका छन् भने कतिपयले त्यसको समयलाई लिएर प्रश्न उठाएका छन्।

२२ वर्षीया जीनि मालिया उहाँको उमेरका मानिसहरूसँग बीजेपीले किन पहुँच पुर्‍याउन खोजिरहेको छ भनेर ‘बुझ्नुहुन्छ’ तर ‘अचानक बाक्लिएको यो सम्पर्कको समयलाई चाहिँ हामीले खासमा ध्यान दिनु पर्छ।’

ती भिडिओले जेनजीले प्रयोग गर्ने भाषा र शैली पछ्याएको तर किन युवाहरूको प्रदर्शन चर्कियो भन्ने विषयलाई सम्बोधन नगरेको उहाँले बताउनुभयो।

केवल मोदीको अकाउन्ट मात्र होइन। बीजेपीको सामाजिक सञ्जालका पेजहरूले पनि मिम तथा जेनजी भाषा र शैली अपनाउन थालेको देखिन्छ।

युवाहरूको प्रदर्शन रोकिएको केही समयमै बीजेपीले व्यायामशालामा खिचिएको एक रिल पोस्ट गर्‍यो। त्यस भिडिओमा युवा तथा केही पाका प्रशिक्षकबीच किन भारतीय युवाहरू प्रदर्शनबाट टाढै बस्नु पर्छ भन्ने विषयमा कुराकानी भएको देखिन्छ। तर धेरै कमेन्टमा त्यस भिडिओलाई ‘लाज लाग्दो’ भनियो।

बीजेपीले पोस्ट गरेको अर्को भिडिओमा सन् १९९० ताकाको चर्चित सिरिज फ्रेन्ड्सको सङ्गीत पृष्ठभूमिमा बजिरहेको देखिन्छ। तर उक्त सिरिज मिलेनिअल पुस्ताका माझ लोकप्रिय थियो जबकि जेनजी पुस्तालाई त्यो खासै मतलब नभएको हुन सक्छ।

मलियाका अनुसार उनको साथीहरूमाझ ती भिडिओ ूहाँस उठ्दा कन्टेन्टूका रूपमा मात्र हेरिन्छन् नकि कुनै राजनीतिक सन्देश वा सम्पर्क प्रयासका रूपमा।

आफ्ना प्रयासमार्फत युवामाझ चाहेको सन्देश पुग्न नसकिरहेकोबारे बीजेपी पनि जानकार रहेको विवरणहरूमा जनाइएका छन्।

प्रदर्शनका बेला मोदीले आफ्ना क्याबिनेट मन्त्रीहरूलाई युवामाझ सामाजिक सञ्जाल सम्पर्क र पहुँच विस्तार गर्न भनेको विवरण आएका थिए।

गत बुधवार सङ्घीय मन्त्रीहरूलाई तिनको सामाजिक सञ्जालको प्रदर्शनबारे ूरिपोर्ट कार्डू दिइएको र विविध प्ल्याटफर्ममा उपस्थिति बढाउन भनिएको हिन्दूस्तान टाइम्सले जनाएको छ।

हालै उक्त पार्टीले सन् २०१५ देखि सो पद सम्हाल्दै आएका सामाजिक सञ्जाल प्रमुख अमित माल्भियालाई हटाएको छ। कतिपय विश्लेषकहरूका अनुसार प्रदर्शनका समयमा बीजेपीविरुद्ध लक्षित अनलाइन आलोचनाका कारण तथा सामाजिक सञ्जालमा फैलिएको सन्देश रोक्न नसक्नुका कारण उहाँलाई हटाइएको हो।

कङ्ग्रेस पनि युवातर्फ

युवा वर्गसँग सम्पर्क विस्तार गर्न खोज्ने बीजेपी एक्लो चाहिँ होइन।

कङ्ग्रेस नेता राहुल गान्धी , जसले बारम्बार इन्स्टाग्राममा सेल्फी शैलीका भिडिओ र तस्बिर पोस्ट गर्छन् , ले पनि युवा प्रदर्शनपश्चात् इन्स्टाग्राममा ‘आस्क मि एनिथिङ्’ भनेर प्रश्नहरूको आह्वान गरे।

तर इन्स्टाग्राममा ध्यान आकृष्ट गर्न सक्नु र त्यहाँ हुने कुराकानीको दिशा नियन्त्रण गर्न सक्नु भिन्ना भिन्नै कुरा हो।

अमेरिकाको मिशिगन विश्वविद्यालयमा सामाजिक सञ्जालको राजनीतिक उपयोग अध्यापन गर्ने जोयोजित पाल भन्नुहुन्छ आफ्नो सन्देश विस्तार गर्न र ‘न्यारेटिभ सेट’ गर्न बीजेपी लामो समयदेखि एक्स तथा ह्वाट्सएपमा रहेका उसका समर्थकहरूको सञ्जालमाथि निर्भर रहँदै आएको थियो – तर इन्स्टाग्राममा उक्त रणनीतिले काम गर्दैन।

इन्स्टाग्रामले धेरै ‘इन्गेज्मेन्ट’ हुने वा लामो समय हेरिने, पटक पटक हेरिने, शेअर र कमेन्ट गरिने सामग्रीलाई नै थप फैलाउँछ।

“जम्मा २०० फलोअर्स भएको अकाउन्टबाट आएको कुनै रिलको १ करोड भ्युज हुन सक्छ जबकि ठूलो समर्थक सङ्ख्या भएको अकाउन्टबाट पोस्ट भएका रिल पनि केही हजार मात्र हुन सक्छ”, पालले भन्नुभयो, “यो बीजेपीका लागि चुनौतीपूर्ण छ किनभने उसको रणनीति आफ्नो सञ्जाल-केन्द्रीत थियो जबकि आजका प्ल्याटफर्महरू प्रभाव-केन्द्रीत भएका छन्।”

बीजेपीका लागि अर्को व्यवधान चाहिँ भिडिओ पोस्ट गरिसकेपश्चात् के हुन्छ भन्ने हो।

४० करोड पटक हेरिएको मोदीको पहिलो रिल एउटा उदाहरण हुन सक्छ। त्यसले धेरै पहुँच पायो तर अनुराग माइनस वर्माका अनुसार त्यसलाई युवाहरूले व्यङ्ग्य गर्दै अनि सम्पादन गर्दै शेअर गर्न थाले। मोदीले चाहेको भन्दा बेग्लै सन्देश प्रवाह हुने गरी।

“रिल बनाएर पेस गरिएका गम्भीर राजनीतिक सन्देशहरूको पनि ट्रोल हुन सक्छ”, उहाँले इन्स्टाग्राम प्ल्याटफर्मको विशिष्टताबारे भन्नुभयो।

तथापि जेनजी पुस्ताको मन जित्ने बीजेपीका प्रयासलाई धेरै अर्थ नलगाउन विज्ञहरूले सजग गराएका छन्।

सो दलको सफलताको ठूलो श्रेय अझै पनि उसको साङ्गठनिक बल र बफादार समर्थकहरूको आधारलाई जाने न कि इन्स्टाग्राममा उसका सामग्रीले कस्तो प्रदर्शन गरेको छ भन्नेमा रहने उनीहरूले औँल्याएका छन्।

“निर्वाचन जित्ने क्षमता र सामाजिक सञ्जालमा सन्देश प्रवाह गर्न सक्ने क्षमता भिन्न हुन् भनेर बुझ्नु जरुरी छ”, पालले भन्नुभयो। “सामाजिक सञ्जालमा प्रत्येक जेनजी युवाले घृणा गरे पनि निर्वाचनमा विजय हासिल गर्न बीजेपी एकदम सक्षम छ।”

अहिलेका निम्ति भारतीय राजनीतिक मञ्चमा रहेका अन्य जस्तै बीजेपीले पनि अञ्जान क्षेत्रमा काम गर्न सिक्दै छन्।

तर अन्ततः यसलाई पनि बीजेपीले बुझ्न सक्यो भने आश्चर्य मान्नु नपर्ने पालले बताउनुभयो।

नयाँ किसिमको राजनीतिक सञ्चारको उपयोग गर्न सक्षम भएको सो पार्टीको इतिहास छ। सामाजिक सञ्जालको सुरुवाती प्रयोगकर्ता हुनुका साथै पडकास्ट र इन्फ्लुएन्सर अन्तर्वार्ताजस्ता नयाँ ढाँचाको उसले उपयोग गरेको छ।

“तर यसका लागि समय लाग्छ। हामीले अहिले यो समस्या देख्नुको अर्थ अब उहाँहरूले नयाँ नियम सिक्नु पर्नेछ”, पालले भन्नुभयो।

Share Now