Prakash Adhikari August 30, 2026

काठमाडौँ, १४ भदौः रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर हराएका विभिन्न देशका पर्यटकमध्ये २ सय ६१ जनाको उद्धार गरिएको छ ।

नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार बुधबार बिहान भोटेकोशीमा गएको बाढीमा परेर सम्पर्कविहीन भएकामध्ये शनिबार साँझसम्म २ सय ६१ विदेशी पर्यटकको उद्धार गरिएको हो ।

बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) हिक्मतसिंह ऐरले विभिन्न कम्पनीमार्फत गोसाइँकुण्ड र कैलाश मानसरोवर गएर हराएमध्ये १६ देशका २ सय ६१ पर्यटकको उद्धार गरिएको राससलाई जानकारी दिनुभयो ।

 

उद्धार गरिएका पर्यटकमध्ये भारतका १ सय ६७, चीनका ४०, बेल्जियमका एक, बुल्गेरियाका एक, जर्मनीका चार, इटालीका तीन, माल्टाका चार, ओमानका एक, पोर्चुगलका एक, रसियाका दुई, स्पेनका दुई, स्वीजरल्यान्डका दुई, टर्कीका दुई, युक्रेनका आठ र अमेरिकाका तीन जना रहेका छन् ।

यस्तै, देश र परिचय नखुलेका २१ पर्यटकको उद्धार गरिएको बोर्डले जनाएको छ । बाढीमा परेर अझै ३ सय २० पर्यटक सम्पर्कविहीन भएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पर्यटक प्रहरी र अन्य पर्यटन सरोकारवालाले प्रभावित क्षेत्रमा रहेका पर्यटकको खोजी र उद्धारकार्यलाई तीव्रता दिएका छन् । घाइते र अलपत्र परेकालाई सुरक्षित स्थानमा ल्याउन सबै आवश्यक प्रयास भइरहेको बोर्डले जनाएको छ ।

नेपाल पर्यटन बोर्डले ‘पर्यटकको सुरक्षा हाम्रो पहिलो प्राथमिकता हो’ भन्दै सबैलाई धैर्य र सतर्क रहन आह्वान गरेको छ । नेपाल पर्यटन बोर्डले कुनै पनि जानकारी वा सहयोगका लागि टोल फ्री नम्बर १२३४, हटलाइन नम्बर ११४४ र पर्यटन प्रहरी ९८५१२८९४४५ मा सम्पर्क गर्न आग्रह गरेको छ ।
–––

Share Now