काठमाडौं,४ कार्र्तिक । प्रहरी प्रधान कार्यालयले कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको यौन शोषणपछि भएको हत्या काण्डको अनुसन्धानमा लापरवाही गरेको अभियोगमा ्रकञ्चनपुर तात्कालीन जिल्ला प्रहरी प्रमुख एसपी डिल्लीराज बिष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई बर्खास्त गने गृह मन्त्रालयसमक्ष शिफारीस गरेको छ।
एआइजी धिरु बस्न्यातको नेतृत्वमा गठित समितिले घटनाको अनुसन्धान बुझाएको रिपोर्टअनुसार प्रहरी प्रधान कार्यालयले दशैं विदा अगाडि नै गृह मन्त्रालयलाई विष्ट र भट्टद्वयको बर्खास्तको लागि पत्र लेखेको थियो ।
प्रहरी प्रधान कार्यालयले शिफारीस गरेपनि वरिष्ठ प्रहरी अधिकृतहरुलाई त्यतिका भरमा बर्खास्त गर्दा अदालतमा प्राकृतिक न्यायको सिद्धान्त अनुरुप ओरोपितलाई सफाई दिने मौका नदिएको कारण देखाई मुद्दा दिने र सोही आधारमा पुनस्थापना हुन सक्ने संभावना भएकोले उनीहरु दुवैलाई गृह सचिवको नेतृत्वमा रहने समितिले स्पष्टीकरण सोध्ने तयारी गरेको छ ।
गृह सचिव नेतृत्व समितिले दुईपटक सम्म २४ घन्टे स्पष्टीकरण सोधेर चित्त बुझ्दो जवाफ नपाएको खण्डमा सरकारी सेवामा अयोग्य हुने गरी बर्खास्त गर्ने अधिकार गृह सचिवसँग हुन्छ। गृह सचिव प्रेमकुमार राईले बर्खास्त प्रकृया सुरु भएको जानकारी दिइसक्नुभएको छ । सचिव राईले प्रहरी प्रधान कार्यालयबाट पत्र आइसकेको बताउदै आफूहरुले वर्खास्तीको प्रकृया शुरु गरिसकेको बताउनुभयो ।
गृह मन्त्रालयले एसपी बिष्टलाई गत भदौ ९ गते निलम्बन गरेको थियो। प्रहरीले निर्मलाको हत्यामा ४१ वर्षीय दिलिपसिंह बिष्टलाई मुख्य अभियुक्त बनाएर सार्वजनिक गरेपछि प्रहरीको अनुसन्धान शंकास्पद भएको भन्दै स्थानीय आन्दोलित बनेका थिए।
स्थानीय जनताले चलाएको आन्दोलनको कुशल व्यवस्थापन गर्न नसक्दा प्रहरीको अनावश्यक बल प्रयोगबाट स्थानीय १४ बर्षीय बालक शनि खुनाको मृत्यु हुन गएको थियो ।
निर्मला घटनाबारे अनुसन्धान गर्न सरकारले गठन गरेको छानविन समितिले तयार पारेको प्रतिवेदनमा एसपी विष्टले अनुसन्धानमा लापरबाही गरेको निष्कर्ष निकालेसगैं एसपी विष्टलाई कारबाहीका लागि शिफारीस गरिएको हो ।
प्रहरी नियमावलीमा आफ्नो पदीय जिम्मेवारी पुरा नगरेमा, आचरण सम्वन्धी कुरा बारम्वार उल्लङ्घन गरेमा, बारम्वार अनुशासनहीन काम गरेमा बर्खास्त गर्न मिल्ने व्यवस्था छ।


















