काठमाडौं ४,कार्तिक । काठमाडौं क्षेत्र नम्बर ७ का प्रतिनिधिसभा सांसद रामवीर मानन्धरले सांसद पदबाट दिएको राजीनामा पार्टीमा अस्वीकृत भएको छ ।
आइतबार बसेको नेपाल कम्युनिस्ट पार्टी(नेकपा(को सचिवालय बैठकले सांसद रामवीर मानन्धरको राजीनामा अस्वीकृत गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभएको छ।
नेकपा नेता वामदेव गौतमलाई उप निर्वाचनमार्फत प्रतिनिधिसभामा लाने योजना अनुरुप मानन्धरले सांसदबाट राजीनामा दिने निर्णय गर्नुभएको थियो । उहाँले असोज २३ गते पत्रकार सम्मेलन गरी नेता गौतमका लागि ठाउँ खाली गर्न राजीनामा दिएको घोषणा गर्नुभएको थियो ।
सामाजिक सञ्जालमा चर्को विरोध भएको र पार्टीबाहिर र पार्टीभित्रै पनि चर्को आलोचना भएपछि वामदेवलाई उपचुनावमार्फत प्रतिनिधिसभाको सदस्य बनाउने निर्णयमा पुगेका नेकपाका संयुक्त अध्यक्ष प्रचण्डले नै चुनाव हार्ने अवस्थामा उपनिर्वाचन गर्ने जोखिम लिन नहुने भन्दै वामदेव काठमाडौंं ७ बाट उठ्ने च्याप्टर क्लोज भैसकेको बताउनुभएको थियो । यस सम्बन्धमा वामदेव गौतमकै भनाई भने आधिकारिक रुपमा अझै सार्वजनिक भएको छैन । सांसद मानन्धरको निर्णयलाई मतदाताले पनि रुचाएका थिएनन् । मानन्धर गुठीले त सांसद मानन्धरलाई दिएको सम्मान नै फिर्ता लिएको थियो ।
आइतबार बालुवाटारमा करिब ४ घण्टा बसेको नेकपाको सचिवालय बैठकमा वामदेव गौतम प्रकरणमा नेताहरुवीच चर्काचर्की र छेडखानी समेत भएको थिया । छलफलको निश्कर्षचाहिँ नेताहरुवीच आपसी शंका उपशंका हैन, एकता र विश्वासको बतावरण बनाउने रहेको सहभागी नेताहरुले बताएका छन् ।
सचिवालयको अर्को बैठक सोमबार दिउँसो १ बजे बस्नेछ भने स्थायी कमिटीको बैठक कात्तिक १२ र १३ गते बोलाइएको छ ।


















