Prakash Adhikari September 18, 2026

 

काठमाडौं, २ असोज । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी सभापति गगनकुमार थापालाई हालको महाधिवेशन कार्यतालिका स्थगन गरेर पार्टीका नेता एवम् पूर्वसभापति शेरबहादुर देउवासंग तत्काल वार्ता गर्न सुझाव दिनुभएको छ ।

उहाँले बिहिवार सामाजिक सञ्जालबाट यस्तो सुझाव दिनुभएको हो । सुझावमा उहाँले भन्नुभएको छ,” तपाईं आज जुन निर्णयमा पुग्नु भो त्यो निर्णय बैशाख २१ को हामीबीच भएको सम्बादपछि त्यहि महिनामा गर्नु भएको भए,जेष्ठको पहिलो साताभित्र सिङ्गो काँग्रेस तपाईंको नेतृत्वमा सानेपा पार्टी केन्द्रीय कार्यालयमा सम्पूर्ण रुपमा एकताबद्ध भएर जुरुक्क उभिन्थ्यो,देशभरि मात्र होईन संसारभरि रहनुभएका नेपाली काँग्रेसका नेता,सदस्य शुभचिन्तक सबैमा कति ठुलो उत्साह , हौसला र पार्टी निर्माणका लागि कति ठुलो उर्जा सृजना हुन्थ्यो होला !”

उहाँले थप भन्नुभएको छ, “गंभीर रुपमा आत्मसमीक्षा गर्दै एकपटक पुनः घोत्लिनुस् ।समय बलबान हुन्छ, पुनः कठोर संकल्प गर्नुस ।”

पूर्वकार्यवाहक सभापति खड्काले सभापति थापालाई कार्यसूची पनि दिनुभएको छ:
१.अशोज ३ गते देखि प्रारम्भ गर्ने गरि घोषणा गरेको १५ औ अधिवेशनको कार्यतालिका स्थगन गरि केही समयको लागि सार्नुस ।
२. तपाईंले पार्टीमा अमज गर्नु भएको निर्णयको बलियो जगमा पार्टीको १४ औ महाधिवेशन बाट निर्वाचित सभापति आदरणीय शीर्षनेता शेरबहादुर देउवा अनि अग्रज नेताहरुसंग आफ्नै अग्रसरतामा वार्ता-सम्बाद तत्काल प्रारम्भ गर्नुस ।

उहाँले भन्नुभएको , “मलाई आत्मबिश्वास छ पार्टीको सम्पूर्ण एकता अँझै सम्भव छ । अन्यथा २ वटा अलग अलग अधिवेशन रोकिएन भने काँग्रेस पार्टीको विभाजन कसैले रोक्न सक्ने छैन । मेरो अन्तरमनले भन्छ काँग्रेस पार्टीको विभाजनको केही महिनाभित्र नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी लगायत बिशेषगरि संविधान निर्माणमा महत्वपूर्ण भूमिका रहेका दलहरु विभाजन हुनेछन् वा गरिनेछन् । परिणामतः विगतका घटनाक्रम, लक्षणहरु र विभिन्न खालका चलखेलले संकेत गर्दै छन् … किन हो किन हो मेरो अन्तरआत्माले भनिरहेको छ, देशमा जातीय,क्षेत्रीय र धार्मिक द्धन्दको अकल्पनीय रणसंग्राम मच्चिने छ, मच्चाईने छ र हाम्रो प्यारो देश भाद्र २४ लाई पनि बिर्साउने गरि भिषण रणसंग्रामको दुश्चक्रमा परिणत हुने प्रबल-प्रबल संभावनातिर उन्मुख देखिन्छ , त्यसपछि हाम्रो देशको राष्ट्रियता, भौगोलिक अखन्डता, सार्वभौमसत्ता अनि स्वाभिमानको के होला?”

उहाँले पार्टी सभापति गगन थापालाई संबोधन गर्दै भन्नुभएको छ, “म विश्वासका साथ भन्छु कानुन, अदालको निर्णय ,पार्टी विधान कुनै कुराले तपाईंलाई कुनै समस्या र अप्ठेरो पर्ने छैन पर्दैन ढुक्क हुनुस ।”

कांग्रेसका पूर्वकार्यवाहक सभापति खडकाले भन्नुभएको छ,” तपाईंले ब्यहोरेका सल्लाह ,सुझाव र बिगतका घटनाक्रमलाई गहिरो शिक्षाका रुपमा निर्मम समीक्षा गर्दै ,तत्काल निर्णायक र साहासिक कदम चाल्नुस अनि सम्पुर्ण एकताको सिङ्गो काँग्रेसको सभापति बन्नुस ।यो पुण्यकर्ममा म कुनै पनि महत्वकांक्षाबाट मुक्त भएर जस्तो सुकै त्याग गर्न तयार छु । ईमानको सहयोग गर्न तयार छु ।”

Share Now