म्याग्दी, ६ असोजः म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माण भएको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाले आजदेखि परिक्षण उत्पादन थालेको छ ।
नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रर्वद्धक रहेको यस आयोजनाको भौतिक पूर्वाधार निर्माण र उपकरण जडानको काम सकेर परिक्षण उत्पादन सुरु भएको हो । आयोजनाका प्रमुख राजबहादुर बिष्टले परिक्षणका लागि आजदेखि राष्ट्रिय प्रणालीमा विद्युत् जोडिएको जानकारी दिनुभयो ।
“बाँध, डिसेण्डर, सुरुङ, स्विचयार्डलगायत सबै भौतिक संरचना र विद्युतगृहका उपकरणको परिक्षण सफल भएपछि विद्युत् उत्पादन थालिएको हो,” प्रमुख बिष्टले भन्नुभयो, “२०÷२० मेगावाट क्षमताका दुईवटै ‘युनिट’ चलाएर परिक्षणका लागि केन्द्रिय प्रणालीमा जोडिएको छ ।”
विस २०६६ मा ठेक्का सम्झौता गरेको भारतीय ठेकेदार आईभिआरसिएलको कमजोर आर्थिक अवस्थाका कारण २०७२ सालमा ठेक्का तोडेर नयाँ प्रक्रियाबाट निर्माण अघि बढाइएको थियो । पछिल्लो पटक ४५ महिनामा सम्पन्न गर्ने लक्ष्यसहित २०७४ मङ्सिर ६ गते रु छ अर्बमा भारतीय सिभिल ठेकेदार कम्पनी जयप्रकाश एसोशियट्स (जेपी)ले ठेक्का सम्झौता गरेको थियो ।
सन् २०२२ फेब्रुअरीमा पहिलो, सन् २०२२ फेब्रुअरीमा दोस्रो र सन् २०२५ नोबेम्बरसम्मका लागि तेस्रो पटक म्याद थपिएको थियो । चौथो पटक थपिएको समयभित्र आयोजना सम्पन्न भएको हो । पछिल्लो पटक छनौट भएको सिभिल ठेकेदार जयप्रकाश एसोसियट्स (जेपी)ले २०७५ असारमा पहुँचमार्ग र २०७६ असारमा सुरुङ खन्न सुरु गरेको थियो ।
कोरोना महामारी, बाढी, पहिरो जस्ता प्राकृतिक विपद् र नदीजन्य निर्माण सामग्रीको अभावका कारण आयोजना निर्माणमा ढिलाई भएको रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले बताउनुभयो । भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल)सँग २०७६ कात्तिकमा एक करोड दुई लाख ९३ हजार २२.३५ अमेरिकी डलरमा इलेक्ट्रोमेकानीकल ठेक्का सम्झौता भएको थियो ।
भारतीय आयात निर्यात (एक्जीम) बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा नेपाल विद्युत प्राधिकरण र नेपाल सरकारकोे संयुक्त लगानीमा कम्पनीको अवधारणा तथा इन्जिनियरिङ प्रक्युमेन्ट एन्ड कन्ट्रयाक्ट (इपीसी) प्रारुपमा राहुघाट जलविद्युत् आयोजना सञ्चालन गरिएको हो । रघुगङ्गा गाउँपालिका–४ दग्नाम र वडा नं ५ झिँ को फेदीमा बाँध, छ किलोमिटर दुई सय ७० मिटर लामो मुख्य सुरुङ र दुईवटा पानी थिग्राउने पोखरी रहेका छन् । तिल्केनीचौरमा विद्युतगृह रहेको आयोजनाको छ किलोमिटर दुई सय ७० मिटर लामो सुरुङ निर्माण भएको छ ।
विद्युतगृह परिसरमा स्विचयार्ड र कालीगण्डकी कोरीडोरअन्तरगत २२० केभी (डबल सर्किट) क्षमताको दाना–कुश्मा प्रशारण लाइनमा लिलो माध्यमबाट जोड्न चार वटा टावर र प्रशारण लाइन निर्माण भएको छ । यस आयोजनाले वार्षिक २४ करोड पाँच लाख ९३ हजार ३४ युनिट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित २०७५ चैतमा विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) गरेको थियो ।